बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठग्नेको सम्पत्ति राज्यले जफत गरेर पीडित बचतकर्तालाई फिर्ता गर्नुपर्ने बताएका छन् । उनले ठगलाई उम्कन नदिइ कठोर सजायसमेत दिनुपर्ने बताए ।
राजमोले संचालन गरेको ‘संघीयताको खारेजी र गणतन्त्रको रक्षा’का लागि आयोजित साताव्यापी विरोधसभाको शुक्रबार बागलुङमा समापन गर्दै केसीले भ्रष्टाचार अन्त्य नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताए । उनले देशको आर्थिक अवस्था सुधार गर्न कृषिमा क्रान्ति ल्याउनुपर्ने बताए । उनले उद्योग खोलेर युवा रोजगार बढाउनुपर्ने सुझावसमेत दिए ।
नेपालको राजनीति भ्रष्ट बन्दै गएकोमा केसीको चिन्ता थियो । उनले संसद्का सबै दलहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप पनि लगाए । ‘मैले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको संगत गरें, उनीहरु भ्रष्टाचारविरोधी थिए,’ उनले भने, ‘अहिले तीनै नेताका कार्यकर्ताहरु भ्रष्ट निस्के ।’
निस्कलंक रहेका कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका कार्यकर्ता अहिले भ्रष्टाचारमा डुबेको उनको आरोप छ । उनले २०४७ देखिका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत गरेका छन् । ‘कानुनले सार्वजनिक पदमा बसेको व्यक्तिको सम्पत्ति ६० दिनमा सार्वजनिक गर्नुपर्छ भनेको छ तर नेताहरुले ३० वर्षदेखि सम्पत्ति सार्वजनिक गरेका छैनन्,’ उनले भने, ‘कांग्रेस र एमालेले त गरेनन्, सुधार्छु भनेर आएको माओवादीले पनि केही गरेन ।’
चारपटक सरकारको नेतृत्व गरेको माओवादीसमेत भ्रष्टाचारमा लिप्त भएको उनले आरोप लगाए । आफ्नो दललाई पनि भ्रष्टाचारको छानबिनमा ल्याउन उनले चुनौती दिए । संघीयता खारेजीको अभियानलाई राजमोले यथावत राखेको केसीको भनाइ छ । ‘यो संघीयता देश खोक्रो पार्ने पद्धति हो, अझै पनि खारेज गर्नैपर्छ,’ उनले भने, ‘देशले थाम्न सक्दैन भनेर थाहा हुँदाहुँदै संघीयता बनाएर कांग्रेस, एमाले र माओवादीका नेताले देश कंगाल बनाएका छन् ।’
राज्यको इज्जत फाल्ने गरी देशलाई भ्रष्टाचारमा डुबाउने खेल अब बन्द गर्नुपर्ने उनले सुझाए । केसीले साम्राज्यवादीको लहलहैमा लागेर देश बिखण्डनमा गएको आरोप पनि लगाए ।
