काठमाडौँ — उत्तरी र दक्षिणी नाकाको महत्त्वपूर्ण भन्सार क्रमशः तातोपानी र मेचीका प्रमुखलाई नौ महिनामा सरुवा गरिएको छ । विशेष परिस्थिति नपरेसम्म उपसचिव तहको कार्यालय प्रमुखलाई दुई बर्से कार्यकाल पूरा गरेपछि मात्र सरुवा गर्नुपर्ने निजामती सेवा नियमावलीमा उल्लेख छ ।
तर राजस्व संकलनसँग जोडिएको भन्सार प्रमुखहरुलाई नौ महिनामै सरुवा गर्नुको कारण भने उल्लेख गरिएको छैन । सरुवाको जानकारी भएपछि तातोपानीका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराई बुधबार काठमाडौं फर्केका छन् ।
उनलाई भन्सार विभागमा सरुवा गरिएको छ । उनको स्थानमा मेचीका भन्सार प्रमुख राजेन्द्र चुँडाललाई पठाइएको छ । मेचीमा भन्सार विभागबाट हरिहर पौडेललाई पठाइएको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराइले उनीहरुको सरुवा गरेको पुष्टि गरे ।
कमल र राजेन्द्र गत भदौमा सरुवा भएका थिए । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई महिनामा गत भदौमा दुवै जनालाई तातोपानी र मेची सरुवा गरिएको थियो ।
तातोपानी नाका पछिल्लो समय विद्युतीय चुरोट (भेप) आयातको विषय विवादमा पर्दै आएको छ । भन्सारको गोदाममा राखेको भेपमध्ये ३६ कार्टुन चोरी भएको अभियोगमा मंगलबार चार जनालाई नियन्त्रणमा लिइएको थियो ।
जाँचपास नभए पनि गत चैतमा ल्याइएको भेप भन्सारको निगरानीमा राखिएको थियो । मेची र विराटनगर भन्सार भने बेलाबेलामा सुपारी, केराउलगायतका वस्तुको आयात/निर्यातमा विवाद हुने गरेको छ ।
सरकारले आयात निर्यात खोल्ने र बन्द गर्ने नीति अपनाएकाले पनि सुपारीको विषय विवादमा पर्दै आएको हो ।
