थाती रहेका ऐन, कानुन बनाउन अहिले उचित समय हो : नेता साउद

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Now is the right time to make existing laws and laws: Leader Saud

काठमाडौँ — कांग्रेस नेता एनपी साउदले थाती रहेका ऐन, कानुन बनाउन अहिले उचित समय रहेको बताएका छन् । कांग्रेस म्याग्दीले बिहीबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि प्रबन्ध गरिएका ऐन, कानुन बनाउन यतिबेला ठीक समय रहेको बताएका हुन् ।

उनले दुईतिहाइको सरकार भएकाले देशको हितका लागि काम गर्ने उचित वातावरणसमेत रहेको औंल्याए । 

‘संविधान कार्यान्वयनका लागि प्रबन्ध गरिएका तर, दरिलो बहुमत नभएका कारण थाती रहेका जति पनि ऐन, कानुन छन् । ती ऐन, कानुन बनाउनुपर्ने बेला यही हो,’ केन्द्रीय सदस्य साउदले भने, ‘देशको हितका लागि काम गर्ने वातावरण छ । यो हाम्रो बनाएको विधेयक असफल होला भन्ने जोखिम छैन । दुईतिहाइको बहुमत छ ।’

उनले दुईतिहाइको सरकारले विधेयकमार्फत कानुन बनाउनुपर्ने बेला अध्यादेशको साहारा लिएका कारण पार्टीकै नेताहरू विरोधमा उत्रिनु परेको पनि स्पष्ट पारे । ‘संसद्बाट विधेयक लैजानु पर्ने ठाउँमा अध्यादेश आएपछि हामीजस्ता सांसदहरूले औंला ठड्याउनुपर्ने बाध्यता आयो,’ उनले भने, ‘किन आयो भन्दा दुईतिहाइ बहुमत छ । प्रजातान्त्रिक मूल्य–मान्यताको कुरो छ । हामी दुईतिहाइ बहुमतको सरकारमा छौँ र सरकारमा रहेकाहरू बोलेनन् भने प्रतिपक्षसँग त त्यो तागत नै छैन ।’

प्रतिपक्षीसँग शक्ति नरहेको र शक्ति नभएको प्रतिपक्षले प्रजातन्त्रको सुरक्षा गर्न नसक्ने उनको भनाइ थियो । 

उनले १४ औँ महाधिवेशनको म्यान्डेडअनुसार पार्टीको विभिन्न जिम्मेवारीमा पुगेका नेताहरूको ध्यान पार्टीलाई मजबुत बनाउनेतर्फ केन्द्रित हुन नसकेको पनि बताए । ‘जिम्मेवारी लिइसकेपछि पनि सबैले पार्टीलाई बलियो बनाउन जुन किसिमले सहकार्य गरेर प्रभावकारी बनाउनुपर्ने हो, त्यतातिर हाम्रो ध्यानकेन्द्रित हुन सकेको छैन,’ उनले भने । 

कान्तिपुर

Link copied successfully