काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपी पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरिएको भन्दै सरकारको आलोचना गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरीलगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो भन्दै सरकारप्रति व्यंग्य गरेका छन्।
उनले राष्ट्रलाई व्यापक दलीय करण गर्ने, संवैधानिक निकायहरू कब्जा गर्ने, राष्ट्र बैंक काँग्रेसको भागमा र धितोपत्र एमालेलाई दिइएको विषयमा खुल्लमखुल्ला बहस गरिने गरेको भन्दै ती विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने टिप्पणी गरेका छन्।
उनले भनेका छन्, 'यहाँ गजब हुँदोरहेछ, गर्न नसकिने र नगरेका काम लेख्ने अनि गरेको काम नलेख्ने पो रहेछ। यहाँ लेखेको भए हुन्थ्यो त, नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरीलगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो। राष्ट्रलाई व्यापक दलीय करण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखेको भए हुन्थ्यो। अझ, राष्ट्र बैंक त काँग्रेसको भागमा भनेर खुल्लमखुल्ला बहस गरिन्छ। धितोपत्रको अध्यक्ष एमालेले लियो रे, त्यो पनि लेखेको भए हुन्थ्यो। दलीयीकरणलाई निरन्तरता दिइन्छ भनेर लेखेको भए हुन्थ्यो नि त। अझै, दलीयीकरणलाई भुईँसम्म पुर्याइन्छ भनेर लेखेको भए हुन्थ्यो। सदनको सिर्जनालाई मारिनेछ, आरोप र प्रत्यारोपको बहस गराइनेछ, यतिसम्म कि ‘रक्सी मैले चोरेको होइन’ भनेर बहस गराइन्छ भनेर लेखेको भए हुन्थ्यो। निराश बनाइएको छ सदनलाई।'
उनले नीति तथा कार्यक्रम यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज भएको टिप्पणी गरेका छन्।
