सरकारले आयोनूनको कारोबार समेत निजी क्षत्रेलाई खुला गर्न लागेकोप्रति कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको विरोध
काठमाडौँ — नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले मुलुकका दुई ठूला दल मिलेर बनेको सरकारले समेत महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको जनाएको छ।
विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरु बरालले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले महँगी नियन्त्रणमा भूमिका निभाउन नसक्दा जताततै उपभोक्ता ठगिनुपर्ने अवस्था रहेको बताएका छन्।
उनले दैनिक उपभोग्य वस्तुहरूको आयातमा सहजीकरण गर्नुको साथै करका दरमा पनि सहुलियत दिनुपर्ने र उपभोक्ता अधिकारको रक्षा गर्नुपर्ने माग गरेका छन्।
'सरकार स्थापना गर्दाको अवस्थामा आम नागरिकलाई दुई ठूला दलले कबूल गरेको प्रतिबद्धताहरू बिपरित बजारमा महंगीको श्रृंखला बढदै गएको, भ्रष्टाचारजन्य कृयाकलापलाई नियन्त्रणमा ल्याउन नसकेको र बजारलाई व्यवस्थित गर्न नसकेको जस्तो गुनासोहरू सुनिन थालेको छ,' बरालले विज्ञप्तिमार्फत् भनेका छन्।
विभागले सरकारले आयोनूनको कारोबार समेत निजी क्षत्रेलाई खुला गर्न लागेको भन्दै समाचार आएको भन्दै आपत्ति जनाएको छ। 'बजारमा बढ्दो कालोबजारीलाई नियन्त्रण गर्नुको सट्टा सरकारले अब नागरिकको दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको नूनको कारोबार समेत निजी क्षेत्रलाई खुला गर्ने भन्ने समाचार आइरहेको छ,' बरालले भनेका छन्, 'बिगत लामो समयदेखि अबिछिन्न रुपमा सरकार आफैले व्यवस्थित तरिकाले आयात, आपूर्ति, भण्डारण र बिक्री बितरण गर्दै गुणस्तरीय आयोनूनको अत्यन्त सुपथ मूल्यमा आपूर्ति व्यवस्थापन गर्दै आएको थियो। त्यहीकारण देशभर ९६ प्रतिशत जनताले सुविधा पाइरहेका थिए ।'
उनले उपभोक्तासंग प्रत्यक्ष सरोकार राख्ने र नेपालको प्रचलित कानून नियम अनुसार वस्तुको अधिकतम खुद्रा मूल्य राख्ने व्यवस्थालाई अझ बढी समय सान्दर्भिक बनाई कानूनी राज्यको दृष्टान्त आम उपभोक्तासमक्ष प्रस्तुत गर्न र बजारलाई अनुशासित बनाउनुपर्ने विभागको माग छ ।
