काठमाडौँ — वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्टले आफ्नो शरीरमाथि आफ्नै छनोटको अधिकार हुने बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन नारी मासिकले बुधबार आयोजना गरेको पाँचौं संस्करण ‘निर्भिक नारी’ मा विष्टले व्यक्तिको शरीरमाथिको अधिकार मानव अधिकार विषय रहेको उनको भनाइ छ । साथै उनले नेपालमा यससम्बन्धी कानुन बनेको तर यसमा स्पष्ट व्याख्या नगरिएको बताइन् ।
‘हामीसँग प्रगतिशील कानुन छन् । यसमा सबैभन्दा पहिले कुरा आउने भनेको गर्भपतन अधिकार हो । यो के हो ? यो कसको पहुँचमा छ ? त्यो कुरा न हामीले छलफल गर्न पाउँछौं,’ कार्यक्रमको चौथो सत्र ‘स्वतन्त्रता मेरो खुसी’ मा उनले भनिन्, ‘यो कानुनले स्पष्ट र के भनेको छ भन्ने कुरा त्यति स्पष्ट छैन ।’
यसैगरी उनले महिलाको शरीरमा समाजले एउटा मापदण्ड बनाएको बताइन् । साथै महिनावारीबारे बाहिर कुरा गरे पनि महिनावारी रोकिने (मेनोपज) बारे अझै खुला रूपमा कुरा गर्ने अवस्था नभएको उनको भनाई छ ।
‘मेनोपजमा अझै महिलालाई ४०/५० मा कुरा गर्यो भने महिला अब बुढी भयो कि भनेर भन्छौं,’ उनले भनिन्, ‘महिलाको शरीरमा धेरै परिवर्तन आउँछ । तर यो कुरा समाजले अझै स्वीकार गरेको छैन ।’
