काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममार्फत कांग्रेसलाई पनि एमालेकरण गरेको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले दुई पार्टीमा फरक नदेखिएको बताए ।
दुई ठूला दल सैद्धान्तिक र व्यवहारिक रूपमा एउटै भएको र सरकारले कांग्रेसलाई पनि एमालेकरण गरेको श्रेष्ठको भनाइ थियो । 'अहिले एमाले सरकारलाई बधाई दिन चाहन्छु किनभने यो पाला कांग्रेसलाई एमालेकरण गर्दिनुभएको जस्तो लाग्छ । सुखी नेपाली समृद्ध नेपाल अब यो संसद्ले स्वीकार गरिसकेको छ,' उनले भने । एमालेको समृद्धि नेपाल सुखी नेपालको नारा कांग्रेस र एमाले गठबन्धनको सरकारले स्वीकार गरिसकेको उनले बताएका हुन् ।
कांग्रेस र एमाले आगामी निर्वाचनमा के फरक अवधारणा लिएर जाने हो भन्ने चासोको विषय रहेको पनि श्रेष्ठले बताए । 'मलाई त चिन्ता के लाग्छ भने यी दुई दल आगामी निर्वाचनमा के एजेन्डा लिएर जनता कहाँ जान्छन् ? सैद्धान्तिक, व्यवहारिक हिसाबले दुई फरक दल बनेनन्, अब नीतिमा पनि ऐक्यबद्धता भइरहेको छ,' उनले भने ।
सुखी नेपाली समृद्ध नेपालको नारा पनि एमाले र कांग्रेस गठबन्धन सरकारमा संशोधन गर्नुपर्ने बेला भएको श्रेष्ठको भनाइ छ । 'सुखी नेपाली समृद्ध नेपाल त हालसाल 'सुखी बिचौलिया, समृद्ध माफिया' भएको हो भन्ने प्रश्न पनि म राख्न चाहन्छु । धितोपत्र बोर्डको ७ प्रतिशत कमिसन नदिईकन आईपीओ जारी नै गर्न दिँदैन, दिएकाहरूको आईपीओ जारी गर्न दिन्छ,' उनले भने ।
सांसद श्रेष्ठले मौद्रिक नीति आउने बेला नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त नगरिएको भन्दै आपत्ति जनाए ।
एमाले र कांग्रेस सरकार लामो समयसम्म चल्नुपर्ने पनि सांसद श्रेष्ठले बताए । १० महिना हुँदा पनि यो गठबन्धन सरकार किन बनेको हो भन्ने यकिन नभएको उनले बताए ।
