नक्कल गरेर भाषाको उचाइ नघटाउन प्रधानमन्त्रीको आग्रह

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's request not to lower the height of the language by copying

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरू रहेको भन्दै अहिलेको मिडियाले तल्लोस्तरको भाषा प्रयोग गर्ने गरेको आरोप लगाए। नेपाली भाषा विश्वकै धनी भाषा भएको उनको भनाइ थियो। उनले अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन आग्रह गरे। उनले नेपाली संस्कार र संस्कृतिअनुसार सम्मानको भाषा बोल्नुपर्ने भन्दै हजुरबुबा र नातिका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताए।

उनले भने, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ। मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले भन्नुभयो भन्छ कि भने भन्छ। नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन। राजा हुँदा हेर्दैनथे, राजा नजर गर्थे। हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो। खाँदैनथे, ज्यूनार हुन्थ्यो। बस्दैनथे, आराम गर्थे। सुन्दैनथे, श्रवण हुन्थ्यो। राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने? यिनलाई सम्मान किन गर्ने? यु, यु भनेपछि हजुरबुबा पनि भयो, नाति पनि भयो। त्यो पो नक्कल गर्नुपर्छ हाम्रोमा भनेर। जो भाषामा गरिब छ, त्यसले हाम्रो भाषामा उचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको?’

प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरू भाषामा नभएको बताए।

कान्तिपुर संवाददाता

Link copied successfully