प्रतिनिधिसभा आकस्मिक समय : सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

House of Representatives emergency time: The MP drew the attention of the government to current issues

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा विभिन्न सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको बोलेरो दुर्घटनामा १० जना घाइते भएको र तीमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेहरूको उपचारका लागि सरकारी पहल आवश्यक रहेको बताएका छन्।

सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा कमिसनको कारण आईपीओ स्वीकृति रोकिएको समाचार आएको उल्लेख गर्दै यस विषयमा छानबिन गर्न सभामुखमार्फत सरकारलाई 'रुलिङ' गर्न आग्रह गरेका छन्।

सांसद रोशन कार्कीले आईपीओ जारी गर्न ५ देखि ७ प्रतिशतसम्म कमिसन मागिएको विषयको यथार्थ छानबिन गर्नुपर्ने बताएकी छन्।

सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीमा साढे तीन वर्षीया बालिकाको मृत्यु भएको र पीडित परिवार हालसम्म मदरसाको शरणमा बसेको उल्लेख गर्दै पीडित परिवारका लागि यथोचित व्यवस्था गर्न माग गरेका छन्।

सांसद ठाकुरप्रसाद गैरेले गैरआवासीय नेपाली संघको कार्यकाल नसकिँदै नयाँ समिति गठन गरिएको समाचार सार्वजनिक भएकाले सो घटनाको वास्तविकता पत्ता लगाउन खोजी गर्नुपर्ने बताएका छन्।

कान्तिपुर

Link copied successfully