काठमाडौँ — सरकार जनताका दैनिक समस्या समाधान गर्नेमा ध्यान दिनभन्दा पनि कहिले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक त कहिले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा अड्किएको रास्वपा सचेतक निशा डाँगीले बताएकी छन् । उनले सरकारलाई यस्ता गतिविधि छोडेर जनताको काममा लाग्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सचेतक डाँगीले सरकारले आफ्ना प्राथमिकता भुलेर नियुक्तिमा अल्झिएको बताइन् । 'सरकारले गभर्नर नियुक्तिमा लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । सरकारको समय यस्ता हावादारी कुरामा खर्च नगर्न पनि सुझाव दिन चाहन्छु,' उनले भनिन्, 'राजधानी काठमाडौं जोड्ने प्रमुख सडक असुरक्षित छन् । लाखौं नागरिक दैनिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन् । सरकारले यतातिर समय खर्च गरोस् । १०-११ महिना भइसकेको छ । कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको पदमा सरकार अड्किएको छ ।'
जनताले सरकार भागबण्डामा अड्किएको देख्न नचाहेको बताइन् । 'ग्रो अप सरकार, जनताले काम खोजेका छन्, भागबण्डा गरेर कुन पद कसलाई दिने भन् खोजेका छैनन्,' उनले सुझाइन् ।
डाँगीले ऊर्जामन्त्री दीपक खड्कालाई संसद्मा आएर नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्थामा आएर स्पष्ट जानकारी गराउन पनि माग गरिन् । 'केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा रहेको विद्युत प्राधिकरण एक महिनाभित्र ५ अर्ब २६ करोड घाटामा छ भनेको सुनियो । यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीले स्पष्टिकरण दिन माग गर्दछु,' उनले भनिन् ।
