काठमाडौँ — कांग्रेस सांसद एनपी साउदले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई तत्काल टुंगो लगाउनुपर्ने बताएका छन् । सबै राजनीतिक दल मिलेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नुपर्ने र त्यसलाई सत्ता सौदाबाजीको अस्त्र बनाउन नहुने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद साउदले संक्रमणकालीन न्यायका बाँकी कार्य सम्पन्न गरेर शान्ति प्रक्रियालाई टुंग्याउनुपर्ने बताएका हुन् ।
'मुलुक शान्ति प्रक्रियामा आएको लामो समय भएको छ । शान्ति प्रक्रियालाई चाँडो टुंगोमा पुर्याउनुपर्ने दायित्व सबै दलको हो, सबै नेपालीको हो । शान्ति प्रक्रियालाई सत्ता बार्गेनिङको टुल्स बनाएर अगाडि राख्नुहुन्न । शान्ति प्रकियालाई टुंग्याएर नेपाललाई शान्तिप्रिय राष्ट्रको रूपमा देखाउनुपर्छ,' साउदले भने, 'शान्तिप्रक्रियाका बाँकी काम द्वन्द्वको अवशेषको रूपमा हेरेर व्यवस्थित रूपमा समाधान दिनेतर्फ सरकार जानुपर्छ । शान्तिप्रक्रिया टुंगो लगाउन स्पष्ट नीति सरकारले तर्जुमा गर्नुपर्छ ।'
सांसद साउदले नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजान सरकारलाई सुझाव दिए । उनले पर्याप्त छलफल गरेर मात्रै बजेट प्रस्तुत गर्न र राजनीतिक प्रभावका आधारमा बजेट विनियोजन गर्ने कार्य बन्द हुनुपर्ने धारणा राखे ।
केन्द्र, प्रदेश र स्थानीय सरकारहरूको बीचमा योजना दोहोरिने अवस्था उत्पन्न नहोस् भन्नेमा सरकार सचेत रहनुपर्ने पनि सांसद साउदको भनाइ थियो । देशका सबै निर्वाचन क्षेत्रमा आवश्यकताका आधारमा योजना विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।
कृषिमा आत्मनिर्भर हुने र जलस्रोतको प्रभावकारी प्रयोग गर्नका लागि सरकारले योजना ल्याउनुपर्ने उनको सुझाव छ ।
