पाकिस्तानी सेनाको उच्चस्तरीय भ्रमणलाई लिएर सदनमा असन्तुष्टि

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Discontent in the House over the high-level visit of Pakistan Army

काठमाडौँ — नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबीचको पछिल्लो तनावलाई मधयनजर गरेर सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले छिमेकमा युद्धको आगो सल्किरहेको बेला सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका हुन् । 

‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कुटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु,’ साउदले भने । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले भारतको जम्मू–कश्मीरमा पर्ने पहलगाममा नेपाली युवक सुदीप गौतमसहित २६ जना निर्दोष  व्यक्तिहरूको निर्ममतापूर्वक हत्याको प्रति दुःख व्यक्त गरे । 

‘विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको शिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन सकेका छैनन्,’ उनले भने, ‘पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ ।’

छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेकोप्रति असन्तोष व्यक्त गरे ।

‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो,’ साउदले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully