काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १७ मा रेशम चौधरीको पक्राउको निष्पक्ष छानबिन गरिदिन सरकारसँग आग्रह गरेकी छन् ।
वैशाख १७ मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरी प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरिएको थियो ।नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता हुने कार्यक्रममा सहभागी हुन जाँदा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्र लिएर गएको प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टीले भने उक्त घटनाको निष्पक्ष छानबिन गरिदिन र आगामी दिनमा त्यस किसिमका घटना नदोहोरिने सुनिश्चितता गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त पार्टीकी अध्यक्ष श्रेष्ठले सरकारसँग उक्त माग गरेकी हुन् ।
'म सरकारमा छु, सत्तापक्षमा छु तर लोकतन्त्रको मूल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो । प्रश्न गर्नु, प्रतिवादन गर्नु र न्यायको पक्षमा बोल्नु लोकतन्त्रको मर्म हो । सरकारसँग प्रश्न छ कसरी एक निर्वाचित प्रतिनिधि, जननेता एक कार्यक्रमस्थलबाट पक्राउ पर्छन् ? कसरी राज्यका संयन्त्रहरूले व्यक्तिको रिसिइबीलाई कानुनभन्दा माथि राख्छन् ?,' श्रेष्ठले भनिन्, 'म आक्रोश होइन, आग्रह लिएर आएकी छु । सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु यो घटनाको गहिरो अध्ययन होस्, यहाँ केबल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ । वैशाख १७ मा भएको घटनामा भएको प्रशासनिक मनोमानिको निष्पक्ष छानबिन होस् ।'
पार्टी सरकारको जवाफको प्रतिक्षामा रहेको अध्यक्ष श्रेष्ठले बताइन् । उनले भनिन्, 'हामी जवाफको प्रतीक्षामा छौं । यस्ता घटना भावि दिनमा जनप्रतिनिधिभाथि यस किसिमको व्यवहार नदोहोरियोस् भन्न चाहन्छु ।'
उनले संसद्ले पनि यस घटनामा आफ्नो निगरानी राख्नुपर्ने र लोकतन्त्रप्रति विश्वास कायम राख्ने वातावरण बनाउनुपर्ने माग गरिन् ।
प्रतिनिधिसभा बैठकको सुरुमा जनमत पार्टीका सांसदहरूले सिटबाट उभिएर आकस्मिक समय माग गरेका थिए । सभामुख देवराज घिमिरेले जनमतका सांसदलाई समय नदिई कांग्रेस सांसदलाई बोल्न दिएपछि पनि उनीहरू उभिइरहेका थिए । त्यसपछि सभामुखले कांग्रेस सांसदलाई बोल्नबाट रोकेर श्रेष्ठलाई बोल्न दिएका थिए ।
रेशम चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता बिथोलिएको छ । चौधरीलाई पक्राउ गर्न चिठी लेख्ने सर्वोच्च अदालतका अधिकृतलाई प्रहरीले वैशाख १७ मै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
