काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको आकस्मिक समयमा सांसद रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गरिएको गिरफ्तारीको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्।
सांसद कान्तिका सेजुवालले युएईको दुबईमा तीन महिनादेखि अलपत्र परेका मुगुको छायानाथ नगरपालिका–१४, सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनी एक वर्षअघि रोजगारीका लागि दुबई गएका थिए।
सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको काम समयमै सम्पन्न गर्न माग गरे।
सांसद पूर्णबहादुर घर्ती मगरले जिल्ला सदरमुकामका लागि विनियोजित बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
त्यसैगरी, सांसद मनिष झाले मन्त्रिपरिषद्मा महिलाको सहभागिता बढाउन माग गरे।
