काठमाडौँ — विश्वभरका हिमालप्रेमीको ध्यान यति बेला सोलुखुम्बु थामेका ५५ वर्षीय कामीरिता शेर्पा र संखुवासभा मकालुकी ५१ वर्षीया ल्हाक्पा शेर्पामाथि केन्द्रित छ । ‘एभरेस्टम्यान’ उपनामले विश्वभर कहलिएका ‘हाई अल्टिच्युट माउन्टेन गाइड’ कामीरिता आफ्नो ३० औं पटकको सगरमाथा आरोहणको विश्व कीर्तिमान तोड्ने लक्ष्यसहित यति बेला सगरमाथा आधार शिविरमा छन् ।
त्यस्तै ‘पर्वतकी रानी’ उपनामले अल्पाइन क्षेत्रमा कहलिएकी हाल अमेरिकामा बस्दै आएकी ल्हाक्पा आफ्नो १० औं पटकको कीर्तिमान तोड्न नेपाल आइसकेकी छन् । ‘यति बेला म सगरमाथा आधार शिविरतर्फ उक्लिँदै छु,’ ल्हाक्पाले कान्तिपुरसँग भनिन्, ‘यस पटकको सगरमाथा आरोहण मेरो ११ औं पटक हुनेछ ।’
उनी संसारमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला आरोही हुन् । ल्हाक्पा सगरमाथा आरोहणपछि सफलतापूर्वक फर्किने पहिलो नेपाली महिला आरोही हुन् भने पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । तर आरोहण सकेर फर्किने क्रममा पासाङको बाटोमै निधन भएको थियो । ल्हाक्पाले यसअघि ८ पटक उत्तरी मोहडाबाट र दुई पटक नेपालतर्फको दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरिसकेकी छन् ।
यता नेपालमा बसेर हिमाल आरोहणलाई पेसा बनाउँदै आएका कामीरिता मौसम र स्वास्थ्यले साथ दिए दुई पटक सगरमाथा आरोहण गर्ने तयारीमा छन् । तर, यसबारे उनले निर्णय लिइसकेका छैनन् । उनका छोरा लाक्पा तेन्जिङका अनुसार, कामीरिता यस पटकको वसन्तकालीन हिमाल आरोहण सिजनमा ३१ औं पटकका लागि सगरमाथा आरोहण गर्दै छन् ।
काठमाडौंमा रहेको सेभेन समिट ट्रेक्स कम्पनीबाट सगरमाथा आरोहण गर्ने विदेशीहरूको गाइडका रूपमा विश्वकै अग्लो हिमचुचुरो सगरमाथा आरोहण गर्न कामीरिता लुक्लातर्फ लागेको छोरा तेन्जिङले बताए । ‘बुबा वैशाख ७ गते काठमाडौंबाट लुक्लातर्फ लाग्नुभएको थियो,’ तेन्जिङले भने, ‘गत वर्षको जस्तो एकै सिजनमा दुई पटक आरोहण गर्ने/नगर्नेबारे अहिले कुनै योजना छैन । तर यसपालि एक पटकचाहिँ सगरमाथा पक्कै आरोहण गर्नु हुनेछ ।’
कामीरिताले २०८१ वैशाख ३० मा २९ औं पटक र दस दिनपछि जेठ ९ मा ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व रेकर्ड कायम गरेका थिए । दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।
त्यसयता उनी सगरमाथा, केटू, मनास्लु, ल्होत्सेलगायत ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ४४ पटक उक्लिसकेका छन् । उनले एकै सिजनमा दोहोर्याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनीपछि सर्वाधिक सगरमाथा आरोहण गर्ने अर्का आरोही खुम्बु पाङबोचेका पासाङ दावा (पादावा) शेर्पा छन् । उनले २७ पटकसम्म सगरमाथा आरोहण गरेका छन् ।
सगरमाथामा पहिलो पटक ७२ औं वर्षअघि मानव पाइला पुगेको थियो । हालसम्म कम्तीमा ७ हजार आरोहीले १२ हजार पटक सगरमाथामा सफलता हात पारेका छन् भने कम्तीमा ३ सय ४० जनाले आरोहणका क्रममा ज्यान गुमाइसकेको अनुमान छ ।
