चौधरी पक्राउबारे संसद्मा जानकारी दिन माग

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Demand to inform Parliament about Chaudhary's arrest

काठमाडौँ — सांसद अब्दुल खानले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको हालै भएको पक्राउबारे संसद्मा जानकारी दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खानले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता प्रक्रिया अघि बढिरहेको समयमा चौधरीलाई पक्राउ गर्नु राजनीतिक षड्यन्त्रको हिस्सा भएको आरोप लगाए ।

त्यसै गरी, सांसद रामप्रकाश चौधरीले चौधरीको गिरफ्तारीको विषयमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे ।

सांसद गंगाराम चौधरीले यही वैशाख १७ गते सुरु भएको दुई दलबीचको एकता प्रयासकै समयमा सर्वोच्च अदालतको नक्कली पत्रका आधारमा चौधरीलाई अनाहकमा दुःख दिइएको दाबी गरे ।

सांसद रञ्जुकुमारी झाले सप्तरीको गाउँ ब्लक क्षेत्रका जग्गाधनीहरूलाई प्रमाणपत्र उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराए । साथै, उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट वृद्धि गरी बहुपक्षीय योजना अन्तर्गत समेट्न आग्रह गरे ।

सांसद रेखा यादवले देशभर फैलिएको भ्रष्टाचारमा कारबाही नभएकोमा गुनासो गर्दै नेपाल विद्युत् प्राधिकरणले जारी गरेको श्वेतपत्रका विषयमा सत्य तथ्य छानबिनको माग गर्नुभयो। साथै, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि प्रकट गरे ।

सांसद प्रेम सुवालले मौलाउँदै गएको भ्रष्टाचार र बिचौलियाको प्रभाव नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले काठमाडौँको सुकुम्वासी बस्तीमा खानेपानी आपूर्ति रोकिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै, मत र कर लिने तर आधारभूत सेवा नदिने सरकारी प्रवृत्तिको आलोचना गरे ।

सांसद राजेन्द्र बजगाईँले हिमाली क्षेत्रका पानी र जडीबुटीलाई भारतीय मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके देशले ठूलो आर्थिक लाभ लिन सक्ने बताए । साथै, विदेशबाट लगानी भित्र्याउन आफूले गरेको प्रयास सरकारी कमजोरीका कारण सफल हुन नसकेको जिकिर गरे ।

सांसद दयालबहादुर शाहीले लोकतान्त्रिक संस्कार सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै, सरकारलाई काम गर्ने अनुकूल वातावरण निर्माण गर्न आग्रह गरे ।

कान्तिपुर

Link copied successfully