काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चौधरीले पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएकोबारे सरकारसँग जवाफ माग गरेका छन्।
सांसद चौधरीले सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै रेशमलाई फर्जी गरेर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा सरकारले कुनै कदम नचालेको भन्दै विरोध जनाए ।
उनले तत्कालै त्यसबारे सरकारले जवाफ नदिए आफूहरू सरकारबाट बाहिरिएर विरोधमा उत्रिने बताए।
'हामी नागरिक उन्मुक्ति र जनमत पार्टीको एकताको तयारीमा थियौँ। तर एक्कासी हाम्रो नेता रेशम चौधरीलाई पक्राउ गरेर अपहरणको शैलीमा डिल्लीबजार पुर्याइयो। सर्वोच्च अदालत आफैँले फर्जी पत्रका कारण उक्त घटना भएको भनिसकेको छ,' उनले भने, 'तर सरकारले अहिलेसम्म पनि त्यसबारे के भएको हो ? सरकारले के गर्यो भनेर जवाफ दिएको छैन। पत्रपत्रिकामा पनि कतै आएको छैन । यसबारे भोलिसम्म पनि प्रधानमन्त्री वा गृहमन्त्रीबाट कुनै जवाफ नहुने हो भने हामी सरकारबाट बाहिरिन्छौँ ।'
