काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राजनीतिकर्मी प्रत्यक्ष रूपमा जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।नवनियुक्त ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीले जनताप्रति थुप्रै वाचा गरेकाले जनताले सम्झनेगरी काम गर्नुपर्ने बताएका हुन् ।
'हामी राजनीतिकर्मी जनताप्रति थुप्रै वाचा गरेर आएका हुन्छौँ, थुप्रै लक्ष्य लिएका हुन्छौँ, लक्ष्य प्राप्तिका लागि आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्छ, राजनीतिकर्मी जनताप्रति प्रतक्ष्य उत्तरदायी भएर काम गर्नुपर्छ,' ऊर्जामन्त्री खड्काले भने ।
सधैँका लागि आफ्नो कार्यकाल नभएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको काम गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।
उनले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारपूर्वक ढंगले निर्वाह गर्नुपर्ने उल्लेख गरे । मन्त्री खड्काले व्यवहारिक ज्ञान, अनुशासित, मर्यादित, जिम्मेवार व्यक्तित्वका रुपमा आफूले राज्यमन्त्रीलाई लिएको बताउँदै आफूले सिकेको, देखेको, भोगेका कुरा र अनुभवलाई राष्ट्र निर्वाहमा लगाउनुपर्ने बताए ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आफू देशकै लागि काम गर्ने व्यक्ति भएकाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउन लाग्ने बताए । देश र जनताको पक्षमा आफूले काम गर्ने उनको भनाई थियो ।
मन्त्रालयका उर्जा सचिव सुरेश आचार्य र जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले मुलुकलाई समृद्ध हासिल गर्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्ने बताए ।
