सरकारको नीति तथा कार्यक्रम एमालेकरण भए पनि मान्नुपर्‍या छ : नेता निधि

वैशाख २१, २०८२

ओमप्रकाश ठाकुर

Even if the government's policies and programs are formalized, they should be accepted: Neta Nidhi

सर्लाही — कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारको नीति तथा कार्यक्रम एमालेकरण भए पनि बाध्यतावस मान्नु परेको बताएका छन् ।

सर्लाहीको हरिवन नगरपालिका–२ अत्रौलीमा तत्कालीन विद्रोही माओवादी पक्षद्वारा हत्या गरिएका सुखदेव महतोको सालिक अनावरण गर्न आइपुगेका नेता निधिले नीति तथा कार्यक्रम एमालेकरण भए पनि सरकारमा सहभागी भएकाले मान्नु पर्ने बाध्यता रहेको बताए । 

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सम्झौताअनुसार १३ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख भएअनुसार कांग्रेस सरकारको निर्णयमा मौन बस्नु परेको उनले जानकारी दिए । ‘समृद्घ नेपाल, सुखी नेपाली एमालेको नारा हो, त्यसलाई नै जोड दिएर नीति तथा कार्यक्रम आएको छ, योजनाहरु के भइरहेको त्यो पनि हाम्रा सांसदहरुले थाहा छैन भनेर भनिरहेका छन्,’ उनले भने, ‘आलोचनाको धागो तन्काईदिउ र धागो चुँडियोस् भन्ने केही तत्वहरु चाहेका छन् । हामीलाई बडा गाह्रो छ ।’ 

पूर्वउपप्रधानमन्त्री निधिले संयुक्त सरकार भएका कारण कांग्रेसले चाहेकै कुरा नभए पनि एमालेको प्रधानमन्त्री भएका कारण एमालेले भनेकै जस्तो नहुनुपर्नेमा जोड दिए । ‘सबैकुरा कांग्रेसले चाहेको जस्तो नहोला तर कांग्रेस सरकारमा छ । कांग्रेसको समर्थनमा एमालेको प्रधानमन्त्री छ, सबै कुरा एमालेले भनेकै जस्तो हुनुपर्छ भन्ने छैन,’ नेता निधिले भने ।

उनले एमाले बहुमत रहेको पालिकामा कामै गर्न नदिएको आरोप लगाए । एमालेले गरिरहेको एकलौटी कामलाई सहेर, दबेर यो प्रणालीलाई सुरक्षित गर्नु परेको उनको भनाइ छ । कम्युनिष्टहरुमा लोकतन्त्रमा विश्वास नरहेको भन्दै उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाट पनि प्रस्ट भइसकेको बताए । कांग्रेसले धेरैकुरा सहेर यो प्रणालीलाई जोगाउनु परेको उनको दाबी छ । 

राजावादीको अराजक गतिविधि भइरहेको भन्दै नेता निधिले जनताले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामाथि आई पर्ने खतराबाट जोगाउन सहिद सुखदेव महतोबाट प्रेरणा लिनु पर्ने बताए । 

हरिवन अत्रौलीका सुखदेव महतो सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन माओवादी विद्रोही पक्षले २०५९ वैशाख २१ गते घरमै हत्या गरेको थियो । साविक आत्रौली गाविसका सभापति तथा नेपाल किसान संघको केन्द्रीय सदस्यसमेत रहेका महतो २०४७ को निर्वाचनमा गाविसको उपाध्यक्ष चुनिएका थिए । महतोको हत्या भएको २२ वर्षपछि आइतबार सालिक अनावरण गरिएको छ ।

महतोका छोरा पिताम्बर महतोको अध्यक्षतामा सहिद सुखदेव महतो स्मृति प्रतिष्ठान गठन गरिएको छ ।

ओमप्रकाश

Link copied successfully