गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : सांसद शाक्य 

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Buddha Jayanti should be celebrated based on Gautama Buddha's birth date: MP Shakya

काठमाडौँ — राष्ट्रिय सभाकी सांसद अन्जान शाक्यले बुद्धको जन्ममितिकै आधारमा ‘बुद्धजयन्ती’ मनाउनु पर्ने बताएकी छन् । 

आइतबार संसद‍्मा बोल्ने क्रममा सांसद शाक्यले बुद्ध दिवंगत भएको दिनलाई लिएर यस वर्ष पनि बुद्धजयन्ती बनाउन लागिएकोमा असहमति जनाउँदै बुद्ध सम्वत् भनेको गौतम बुद्धको जन्ममिति नभएको दाबी गरिन् । ‘कसैले बुद्धको जन्ममिति ई.पू. ६२३ लाई लिएर आउने वैशाख २९ गतेका दिन २६ सय ४९ औं बुद्धजयन्तीका रुपमा मनाउँदैछन्,’ उनले भनिन्, ‘कसैले गौतम बुद्ध महापरिनिर्वाण (दिवंगत) भएको दिनको मितिलाई लिएर वैशाख २९ गते २५ सय ६९औं बुद्धजयन्तीका रुपमा मनाउँदै छन् । २५ सय ६९ भनेको बुद्ध सम्वत् हो । बुद्ध महापरिनिर्वाण भएको मितिलाई आधार मानेर उक्त दिनदेखि बुद्ध सम्वत् प्रारम्भ भएको हो । वैशाख २९ गते बुद्ध सम्वत्‌ नयाँ वर्ष २५ सय ६९ प्रारम्भ हुन्छ ।’ 

उनले बुद्ध सम्वत् भनेको गौतम बुद्धको जन्ममिति नभएको दाबी गरिन् । उनले थपिन्, ‘कतिपयले बुद्धको जन्ममिति वा महापरिनिर्वाण मितिलाई बेवास्ता गर्दै वैशाख पूर्णिमालाई केवल त्रिसंयोग दिवसका रूपमा मनाउँछन् । यस अभ्यासले बुद्धको जन्मस्थान नेपालको महत्वलाई ओझेलमा पार्छ ।’ उनले बुद्ध जन्मिएको देशमै, बुद्धको जन्ममितिलाई आधार नमानी फरक–फरक रुपमा बुद्धजयन्ती मनाउने गर्नु नेपालका लागि विडम्बना भएको उल्लेख गरिन् । ‘गौतमबुद्धको जन्म आजभन्दा २६ सय ४९ वर्ष अघि लुम्बिनीमा भएको थियो । उहाँले २६ सय १४ वर्षअघि बोधगयामा ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गर्नुभएको थियो र कुशिनगरमा २५ सय ६९ वर्षअघि अर्थात् गौतम बुद्ध ८० वर्षको हुँदा महापरिनिर्वाण अर्थात् अब फेरि जन्म मृत्युको चक्रमा पर्नु नपर्ने गरी सदाका लागि उहाँ दिवंगत हुनु भएको थियो,’ शाक्यले भनिन्, ‘ती सबै घटना एकैदिन वैशाख पूर्णिमाका दिन परेको थियो । त्यसैले यस दिनलाई त्रिसंयोग दिवसका रुपमा पनि बौद्धहरुले मनाउने गर्दछन् ।’ उनले बुद्ध जन्मेको वैशाख २९ गते २६ सय ४९ वर्ष पुग्ने भन्दै यसपालिको बुद्ध जयन्तीलाई २६ सय ४९औं बुद्ध जयन्ती भनेर मनाउनुपर्नेमा जोड दिइन् । 

मृत्यु भएको दिनलाई जन्मजयन्तीका रुपमा मनाउने कुरा गलत रहेको भन्दै आधिकारिक निकायले नै गलत अभ्यास गरिरहेको उनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully