काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने संकल्पका जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको बागमती प्रदेश प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले संसद्मा पहिलो दल बन्ने संकल्पका साथ अघि बढेको बताए । 'विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ', उनले भने ।
‘माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति’
यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । 'सामाजिक न्याय, आर्थिक पछौटेपनविरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको छ । बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको संकल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको छ', उनले भने ।
