सरकारमा सहभागी दलका नेता नै देश लुट्ने काम गरिरहेका छन् : अध्यक्ष साह

वैशाख २०, २०८२

माधव ढुंगाना

The leaders of the parties participating in the government are looting the country: President Shah

भैरहवा — आम जनता पार्टीका संयोजक तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकार जनताप्रति उत्तरदायी र जवाफदेही नभएको बताएका छन् । बरु, यतिबेला लोकतन्त्रको नाममा लुटतन्त्र, भ्रष्टाचार र अराजकता मौलाउँदै जान थालेको उनको भनाइ थियो । 

पार्टीले आइतबार रुपन्देहीमा आयोजना गर्ने खबरदारीसभाका लागि भैरहवा आइपुगेका नेता साहले शनिबार भैरहवामा आयोजित पत्रकार भेटघाटमा अहिलेको सरकारबाट जनअपेक्षा अनुरुपको कुनै पनि काम हुन नसकेको बताए । ‘एमाले र कांग्रेसको झण्डै दुई तिहाइको अहिलेको सरकारबाट मुलुकमा सुशासन, सदाचार, राजनीतिक स्थिरता, चलायमान अर्थतन्त्र लगायत्का अपेक्षा आम जनताले गरेका थिए,’ उनले भने, ‘जनताले गरेका अपेक्षाअनुरुप सरकार चल्नुको सट्टा देशलाई झन्-झन् संकटमा लैजानेमात्र काम भएका छन् ।’

सरकारमा सहभागी दलका नेता नै देश लुट्ने काम गरिरहेको आरोप उनले लगाए । उनको भनाइमा ठूला दलका नेताहरुले लोकतन्त्रको नाममा देशमा लुट्ने र देश लुटेको कालो धन अवैध तरिकाले विदेशमा पुर्‍याउने गरेकाले मुलुकमा आर्थिक संकट झन् झन् बिकराल बन्दै जान थालेको हो ।

‘सरकारमा सहभागी पार्टीकै कार्यकर्ता र सरकारका सबै निकाय सरकारविरुद्ध आन्दोलनमा उत्रिन थाले भने आमसर्वसाधारण जनताको आवस्था के होला ?,’ प्रश्न गर्दै साहले भने, ‘लोकतन्त्रको नाममा भैरहेको लुटतन्त्र र अहिलेको सरकारको मनोमानीतन्त्रबाट देशलाई जोगाउन आमजनता पार्टी मुलुकभरि खबरदारी अभियानकासाथ अघि बढेको हो ।’

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully