काठमाडौँ — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन् ।
शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको सरकार बनेको छ। यो सरकार के हो भने अहिल बहुदलीय व्यवस्था आएदेखि र त्यसमा पनि विशेष गरी २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान, संविधान सभाबाट जारी भइसकेपछि त्यसलाई कार्यान्वयन गर्नमा यसमा थोरबहुत कमी, कमजोरी भएको होला, त्यसलाई अब सुधार्नको लागि मिलाएर संविधान सभाबाट जारी भएको संविधानको भावना र मर्मअनुरुप हामी सबैले हरेकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने चाहना छ।'
उनले भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरुप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको बताए । उनले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक भएकाले अहिले नेपाली कांग्रेसस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको बताए । सबै एकैचोटी विकास गर्न जादुको छडी कोहीसँग नरहेको भन्दै प्रतिकुल अवस्थाबाट अनुकुलतातर्फ लैजान सरकारले काम गरिरहेको उल्लेख गरे ।
अर्थतन्त्रमा आएको अफ्ठ्यारोपनलाई हटाउनका लागि सरकारले लहलहैमा र पपुलिस्टका कार्यक्रमहरु दिएर नभइ देशलाई सम्हाल्ने, व्यवस्थालाई टिकाइराख्ने किसिमले अघि बढेको बताउनु भयो। सरकारले शुक्रबार जारी गरेको नीति तथा कार्यक्रमबाट पनि देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिलाई सम्हाल्ने गरी आएको देखिने स्पष्ट पारे ।
उनले भने, 'जादुको छडी कोहीसँग छैन। हामी प्रतिकुल अवस्थाबाट अनुकुलतामा लग्नको लागि कोभिड १९ पछि अर्थतन्त्रमा आएको अफ्ठ्यारोपन जुन छ, त्यसलाई हटाउनको लागि अहिले यो सरकारले बढो जिम्मेवारपूर्ण तवरले लहलहैमा होइन, पपुलिस्टका कार्यक्रमहरु दिएर होइन, देशलाई सम्हाल्नुपरेको छ, यो व्यवस्थालाई टिकाउनुपरेको छ। त्यो जिम्मेवारी वहन गरेर अहिले हिजो भर्खरै सम्माननीय राष्ट्रपतिज्यूले जुन नीति र कार्यक्रम संसदमा जारी गर्नुभएको छ, त्यसबाट पनि के देखिन्छ भने देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुन परिस्थितिलाई सम्हाल्न नीति तथा कार्यक्रममार्फत दर्शाएको छ।’
उपप्रधानमन्त्री सिंहले धेरै संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको भावना र मर्मअनुरुप अभ्यास गर्न पाएकै कारण अहिलेको अधिकार प्राप्त भएको उल्लेख गरे। अधिकार मात्रै माग्ने भन्दा आफ्नो जिम्मेवारी पनि सँगै निभाउन सक्नुपर्ने बताए ।
