काठमाडौँ — नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पूर्वपरराष्ट्रमन्त्री एवम् कांग्रेस सांसद एनपी साउदसँग भेटवार्ता गरेका छन् ।
साउदको निवास भैंसेपाटीमा बिहीबार साँझ चौथाइलेले 'डिनर मिटिङ' गरेका हुन् । उक्त भेटवार्तामा नेपाल भारत सम्बन्ध र समसामयिक राजनीतिका विषयमा छलफल भएको साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।
छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री साउदले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गरेका थिए । उक्त घटनामा एक जना नेपालीसहित २६ जना मारिएका थिए ।
बुधबार नेपाल भ्रमणमा आएका चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री आरजू राणा देउवालगातसँग भेटवार्ता गरेका छन् ।
