काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उप–विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै सहकार्यका क्षेत्रहरू पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले कोप–२९ मा आफ्नो सहभागिताको प्रसङ्ग उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
उप–विदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको भन्दै ३० वर्षसम्म कुनै समझदारी पत्रमा हस्ताक्षर हुन नसके पनि अब चाँडै कुनै न कुनै समझदारी पत्रमा हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिए ।
