श्रमिकलाई ऋण र अनाहक मृत्युको पासोबाट बाहिर निकाल्न सरकार कटिबद्ध छ : श्रममन्त्री भण्डारी

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

The government is determined to get the workers out of the trap of debt and untimely death: Labor Minister Bhandari

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रमिकलाई डिजिटल, ऋणको भार, अनाहक मृत्युको पासोबाट बाहिर निकाल्न सकार कटिबद्ध भएको बताएका छन् ।

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै श्रम मन्त्री भण्डारीले सबै श्रमजीवी तथा रोजगारदाता एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न समेत आव्हान गरेका छन् ।

‘आन्तरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि नेपाल सरकार कटिबद्ध छ । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि श्रमिकहरुको हक र अधिकारको सुनिश्चितता गर्दै नयाँ र परिष्कृत तवरले जुट्नुपर्ने सामूहिक अभिभारा हाम्रो सामु रहेको छ,’ उनले भने,‘आगामी दश वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित घोषणा भएको आन्तरिक रोजगार प्रवर्द्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको छ । यसै क्रममा श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्बन्धित कानुन तथा नीतिहरु सुधारको कार्य अघि बढिसकेको छ ।’

उनले सबै तहका सरकार तथा सरोकारवालासँगको सहकार्यमा श्रम बजारको प्रवर्द्धन र विकासका लागि चरणबद्ध एवं प्रभावकारी तवरले कार्य गर्नेगरी अभियान सञ्चालन गर्ने चरणमा आइपुगेका बताए । 

‘नागरिकलाई प्रभावकारी श्रम सेवा प्रवाह गर्न श्रम संसार पोर्टल तथा मोबाइल एप्लिकेसन बिहीबारदेखि सबै स्थानीय तह र श्रमिकबीच पुर्‍याउनेछौं’, उनले भने,‘स्थानीय तहबाटै सबै प्रकारका श्रम तथा रोजगार सेवा र सुविधा प्रदान गर्नका लागि यो अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप, पूजी र जाागरको उचित उपयोग गर्दै ‘स्कील्ड नेपाल र सीपयुक्त नेपाली’को अवधारणामा आगामी दिनमा डिजिटल र्ट्याप डेथ र्ट्याप र डेप्ट र्ट्याप बाट बाहिर निकाल्न समेतका लागि मन्त्रालय कटिबद्ध रहेको बताए ।

कान्तिपुर

Link copied successfully