१२ बुँदे मागसहित फार्मेसी विद्यार्थी आन्दोलनमा

करारका जनशक्ति हटाई सक्षम जनशक्ति राख्नुपर्ने लगायतका माग राख्दै माइतीघरमा प्रदर्शन

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Pharmacy student movement with 12 point demands

काठमाडौँ — फार्मेसी अध्ययन गरिहेका विद्यार्थीको 'स्वतन्त्र फार्मेसी युवा समूह'ले स्थानीय तहले राखेका करारका जनशक्ति हटाई सक्षम जनशक्ति राख्नुपर्नेलगायत १२ बुँदे माग राखेर बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् । फार्मेसिस्टको पारिश्रमिक न्यून रहेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

फार्मेसिस्ट विद्यार्थी जीवन दाहालले कतिपयले १२/१४ हजारमा काम गरिरहेको बताए । उनले भने, ‘कम्तीमा सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक हुनुपर्छ ।’ उनीहरुले आफ्ना माग र सरोकारबारे फार्मेसिस्टहरुको संस्था नेपाल फर्मास्युटिकल एसोसिएसनलाई जानकारी गराइसकेका छन् ।

नेपाल फार्मेसी परिषद्का अनुसार नेपालमा रजिष्टर्ड फार्मेसिस्ट ७ हजार ४ सय ३० छन् भने असिस्टेन्ट फार्मेसिस्ट १४ हजार ५ सय ७ रहेका छन् । रजिष्टर्ड फार्मेसिस्ट जीवन शाहीले पढाइ सकिएपछि पनि बेरोजगार हुनुपर्ने र रोजगार पाइहाले पनि न्यूनतम तलबमा काम गर्नुपर्ने बाध्यताले आफूहरु आन्दोलनमा आएको बताए । अहिले ८ देखि १२ हजार पारिश्रमिक पाउन १४ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘जसरी अन्य स्वास्थ्य क्षेत्रमा सरकारले हेरेको छ, त्यसरी नै हाम्रो पनि माग सरकारले सुनोस् भन्नकै लागि सडकमा आएका हौं,’ उनले भने । 

स्थानीय तहमा फार्मेसिस्टहरुको दरबन्दी खुलाउन पनि उनीहरुले माग गरेका छन् । अस्पताल फार्मेसी सेवा निर्देशिका २०७८ को पनि पालना नभएको उनीहरुको भनाइ छ ।

उनीहरुले प्रत्येक स्थानीय तहमा एक जना फार्मेसिस्टको अनिवार्य स्थायी दरबन्दी हुनुपर्ने, प्रत्येक वडा स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरबन्दी हुनुपर्ने, सरकारी, निजी र सामुदायिक फार्मेसीमा काम गर्ने फार्मेसिस्टलाई सरकारको स्वास्थ्य सातौं र पाचौं तह बराबर राखिनुपर्ने लगायतका माग राखेका छन् ।

- अभिषेक अधिकारी (प्रशिक्षार्थी)

कान्तिपुर संवाददाता

Link copied successfully