काठमाडौँ — सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना हुने भएको छ । ‘गेट वे टु एभरेस्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेन्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सीताराम घिमिरेले जानकारी दिए ।
'दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेन्चर आयोजना गरिएको हो,' घिमिरेले भने, 'सहभागीहरुले बीवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।' काठमाडौँबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो ।
समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ ।
चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरीटाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।
स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मी तथा पत्रकारलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ ।
पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरीटाप, पत्तालेसम्म पुग्ने कार्यक्रम छ । दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिनेछ भने तेस्रो दिन सहभागीहरु विद्युतीय सवारीमै काठमाडौँ फर्कने तालिका छ ।
