बुटवल — गुल्मीको चन्द्रकोठ गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा भएको छ ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा पूर्वाधारसँगै सामाजिक र मानसिक स्वास्थ्य सेवाको पनि विस्तार गर्नु जरुरी रहेको बताएका छन् । उनले तिनै तहका सरकारले अब लगानी गर्नु अनिवार्य रहेको बताए ।
गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गर्दै अब नागरिकको स्वास्थ्य जीवनका लागि सामाजिक, मानसिक र भावनात्मक स्वास्थ्य सेवा पनि सुधार गर्नु अनिवार्य रहेको बताएका हुन् ।
मन्त्री सारुले समाजमा निराशा र मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताए । ‘अब स्थानीय सरकारले मानसिक र सामाजिक स्वास्थ्य समस्याका लागि बजेट तोकेरै लगानी गर्नुपर्ने बाध्यात्मक अवस्था छ,’ उनले भने, ‘समयमै न्यूनीकरण गर्न नसके मानसिक, सामाजिक र भावनात्मक समस्या जटिल बन्दै छ ।’
गुल्मीको चन्द्रकोट गाउँपालिका लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तह मध्ये पूर्ण संस्थागत प्रसूतियुक्त गाउँपालिका घोषणा हुने प्रदेशको २० औं र गुल्मीको पाँचौं गाउँपालिका हो ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार अहिले नेपालमा प्रति लाखमा १ सय ५१ र लुम्बिनी प्रदेशमा प्रति लाखमा २ सय ७ जना आमाको प्रसूतिकै क्रममा मृत्यु हुने गरेको छ । त्यसमा रक्तश्रावबाट मृत्यु हुनेको संख्या ३२ प्रतिशत रहेको छ ।
मन्त्री सारुले प्रदेश सरकारले प्रति लाखमा ज्यान गुमाउने २ सय ७ आमाको संख्या आगामी वर्ष ७० मा झार्ने गरी कार्यक्रम बनाइरहेको र यसलाई अभियानकै रुपमा सञ्चालन गरिएको बताए । त्यस्तै प्रति २४ घण्टामा ४६ प्रतिशत र प्रति ४८ घण्टामा २० प्रतिशत आमाहरुको मृत्यु हुने गरेको तथ्यांक छ ।
चन्द्रकोट गाउँपालिकाले १ वर्षमा प्रसूति गराएका १ सय ९० जना गर्भवती महिलामध्ये शत प्रतिशत अर्थात १ सय ९ जनाले नै स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराएको, स्वास्थ्य प्रोटोकल अनुसार ४ पटक गर्भजाँज गराउने महिलाको संख्या ९७ दशमलब ८९ प्रतिशत र ३ पटक प्रसूति जाँच गराउने महिलाको संख्या ९८ दशमलव ९४ प्रतिशत पुर्याएर घरमा र बाटोमा प्रसूति गराउने गर्भवती महिलाको संख्या शून्य बनाएपछि पालिकालाई पूर्ण संस्थागत सेवायुक्त गाउँपालिका घोषणा गरिएको अध्यक्ष युवराज खत्रीले बताए ।
‘हामीले पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त बनाउन ६ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर बनाएका छौं,’ उनले भने, ‘सबै टोलबस्तीमा सुरक्षित मातृत्व सम्बन्धी सचेतना कार्यक्रमको अभियान पनि निरन्तर चलाइएको छ ।’
