बाँदरबाट जोगाउन गोरखा दरबारको छानामा काँडेतार

वैशाख १८, २०८२

हरिराम उप्रेती

Barbed wire on the roof of the Gorkha palace to protect it from monkeys

गोरखा — भूकम्पपछि पुननिर्माण भएको गोरखा दरबार क्षेत्रका संरचना र झिँगटीमा बाँदरले क्षति पुर्‍याएपछि तारबार राखिएको छ । बाँदर उक्लने सम्भावित ठाउँमा काँडेतारले घेरिएको हो । 

एक दशकयता गोरखा दरबारमा बाँदरको उपद्रोले झिँगटी खस्ने, पानी चुहिने समस्या थपिएको छ । अस्थायी विकल्पको खोजी गर्दै छानामा काँडेतार राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकले बताए । ‘झिँगटी आज मर्मत गर्‍यो, भोलि उस्तै हुन्छ, क्षति कम गर्न धेरै विकल्प खोज्यौं,’ उनले भने, ‘अहिले बाँदर उक्लने मिल्ने ठाउँमा काँडेतार राखिएदिएपछि क्षति धेरै नै न्यूनीकरण हुन थालेको छ ।’

भक्तजनले लगेको चामल, प्रसाद लगायतका सामग्री खोसेर बाँदर छानामा उक्लिएर उपद्रो मच्चाउने गरेका थिए । ‘भक्तजनको अक्षता लगायतका अनाज लिएर छाना चढ्ने, त्यो चामल खसेपछि खोज्न झिँगटी यता र उता पारिदिन्छन्,’ उनले भने, ‘छानाको क्षति त यसै भइहाल्यो, झिँगटी खसेर तलका भक्तजनलाई लाग्छ कि भन्ने पनि डर छ ।’

गोरखा कालिका मन्दिर अगाडिको भाग, गोरखनाथबाट गोरखा दरबार प्रवेशद्वारको छाना लगायतका ठाउँमा काँडेतार हालिएको उनले बताए । 'झन्डै ५ रोल काँडेतार छानामा राखिएको छ । गत वर्ष केही भागमा तार राखेका थियौं, क्षतिमा केही न्यूनिकरण आयो, त्यही सिकाइले यो वर्ष पनि सम्भावित ठाउँमा तार राखेका छौं ,’ उनले भने । विभागसँग पनि मौखिक सहमति लिएर तार राखिएको उनको भनाइ छ ।

Barbed wire on the roof of the Gorkha palace to protect it from monkeys

कलिका मन्दिर, दरबार प्रवेशद्वार, शीतलपाटीको झिँगटी बाँदरले झारिदिँदा पानी चुहिने समस्या थियो । तामाको पाता छानामा राख्ने विकल्पका बारे पनि आवाज उठेको थियो । प्राचीन स्मारक संरक्षण ऐन २०१३ मा मौलिक स्वरुप परिवर्तत गर्न नमिल्ने प्रावधान छ । ‘तामाको पाता राख्न एकातर्फ खर्चिलो पनि भयो, मौलिक स्वरुप पनि परिवर्तन गर्न नमिलने भएपछि व्यावहारिक पाटो खोजेर तत्काललाई क्षति न्यूनिकरण गर्न तार राखेका हौं,’ प्रमुख पाठकले बताए । अन्य क्षेत्रको पुरातात्विक संरचनामा पनि बाँदरको उपद्रोले समस्या बनाएकाले यो राष्ट्रिय बहसको विषय बनेको उनी बताउँछन् ।

सयौंको संख्यामा रहेका बाँदरलाई गुलेलीले तर्साउने प्रयोग पनि गरिएको थियो । बाँदर नियन्त्रणका लागि हेरचाह अड्डाका कर्मचारी पनि फुर्सदमा खटिने गरेका छन् । दरबार आसपासमा पसल व्यवसाय गर्ने स्थानीयलाई खानेकुरा छोप्न र बाँदरबाट जोगाउन हैरान हुने गरेको छ ।Barbed wire on the roof of the Gorkha palace to protect it from monkeys

बाँदरले झिँगटी फालेको दरबार क्षेत्रको ६ वटा प्रवेशद्वार अझै मर्मत हुन सकेको छैन । ‘हरेक वर्ष मर्मतको शीर्षकमा ३/४ लाख रुपैयाँ आउाछ, त्यो झिँगटी फेर्दैमा सकिने भयो,’ पाठकले भने, ‘विकल्प यही त होइन, अहिले बढी क्षति हुनबाट रोक्न मात्र खोजेका हौं  ।’

गोरखा दरबारमा २०७२ सालबाट बाँदरले दु:ख दिन थालेको स्थानीय बताउँछन् । भक्तजन र घुम्न आउने पर्यटक बाँदरको चर्तिकला देखेर रमाए पनि सम्पदामा क्षति पुग्न थालेपछि यहाँका कर्मचारी चिन्तित छन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully