हृदयेन्द्र शाहलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ

ओलीले भने- राजा हुने सपना देखे सपनामै जिन्दगी जाला

वैशाख १७, २०८२

न्युज एजेन्सी नेपाल

Prime Minister's suggestion to Hridayendra Shah: It would be good if he entered the field of art

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिएका हुन् ।

उनले राजा हुने सपना नदेख्नसमेत चेतावनी दिए । केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाव दिएकी थिइन् ।

पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए । उनले समाजमा बढेको विकृति चिर्नका लागि कला क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, 'सुरक्षा पन्तजस्तो कलाकारले कति राम्रो भन्नुभएको छ, हेर्नुस् त, राम्रो अनुहार छ, कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? त्यति राम्रो भनेकी छिन् । म पनि सुझाव दिन्छु, ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।'

कलाकारलाई बहिष्कार गर्दा केही फरक नपर्ने भन्दै उनले आफ्नो काममा लागिरहन आग्रह पनि गरे ।

न्युज

Link copied successfully