छाउपडीविरुद्ध धामीहरू पनि

सरकारी निकाय, सरोकारवालासहित धामीको समूह बनाएर अभियान चलाउन सुझाव

वैशाख १७, २०८२

मेनुका ढुंगाना

Even Dhamis against Chhaupadi

अछाम — छाउपडी हटाउन सरोकारवालासहित धामीको समूह बनाएर सचेतना अभियान चलाउनुपर्ने र छाउगोठ व्यवस्थापनतर्फ लाग्नुपर्ने धार्मिक अगुवाले सुझाएका छन् । सामाजिक विकास कार्यालयले छाउपडी, छुवाछूतजस्ता सामाजिक कुरीति हटाउने जुक्ति निकाल्न जिल्लाका १० वटै स्थानीय तहबाट सहभागी विभिन्न देवताका धामी तथा धार्मिक अगुवासँग छलफल गरेको हो । 

देवताका कारण छाउपडी मान्ने गरेको र धामीहरूले डर देखाउँदा उन्मूलन हुन नसकेको भन्दै चर्चा हुने गरेपछि कार्यालयले छलफल आयोजना गरेको जनाएको छ । कार्यक्रममा सहभागी धामीले आफूहरू छाउपडी प्रथा हटाउन बाधक नरहेको बताए । तुर्माखाँद गाउँपालिका–६ स्थित बन्डाली देउताका धामी ६५ वर्षीय तारा चलाउनेले देउताले पनि छाउका बेला गोठ बस्नुपर्ने नभनेकाले अछाममा छाउगोठ भत्काउने अभियान चलेका बेला पहिलो दिन आफ्नै गोठ भत्काउन लगाएको बताए ।

‘म सशस्त्र द्वन्द्वमा १० वर्ष भूमिगत भएको मान्छे हुँ । यसरी पगरी गुथेर धामी बन्ने रहर नभई बाध्यता हो,’ उनले भने, ‘म गणतन्त्रको धामी हुँ, छाउपडी मान्नुपर्छ, घरमा बस्नु हुँदैन, गोठमै जानुपर्छ भन्ने संस्कारको विरोधी हुँ । देवताले गोठमा बस्नुपर्छ भन्दैन ।’ 

छाउपडी प्रथा हटाउन सरकारी निकाय, सरोकारवालासहित विभिन्न देवताका धामीको समूह बनाएर जिल्लाभर सचेतना अभियान चलाउनुपर्ने र छाउगोठ व्यवस्थापनतर्फ लाग्नुपर्ने उनले बताए । ‘केही विनाश भयो भने छाउपडी घरमा राखेर हो, छोइछिटो भएर हो भन्ने भाषा बोल्न अरू धामीले पनि छोड्नुपर्छ । समय बदलिएको छ । अब हामीजस्ता धामीको विचार पनि बदलिनुपर्छ,’ उनले भने ।

साँफेबगर नगरपालिका–५ नवठानाका मस्टो देवताका धामी मोतीसिंह कुँवरले धामीका पनि सामाजिक बाध्यता रहेको बताए । ‘धामीहरू बाहिर कसैले छोएको खाँदैनन्, छाउपडीलाई घरमा बस्न दिँदैनन्, उनीहरूलाई छुँदैनन् भन्ने सबैले बुझेका छन् । तर धामी किन यसो गर्छन् भन्ने सामाजिक बाध्यता कसैले बुझ्दैनन्,’ उनले भने,‘सामाजिक मर्यादा कायम राख्न र सम्मान पाउनका लागि भए पनि धामीले केही कुरा भन्नै पर्ने र बार्नर्पैर्ने बाध्यता छ ।’

पहिले ज्वरो, झाडापखालादेखि जटिल रोग लागे हेराउन आउने गरेकामा अहिले कम हुँदै गएको उनले बताए । धामीले पनि बिरामी भएकालाई अस्पताल लैजानुपर्छ भन्ने गरेको उनले बताए । 

तुर्माखाँद गाउँपालिका–४ का बन्डाली देवताका धामी कर्णबहादुर बुढाले महिनावारी भएका महिलालाई घरमै राख्न नसके पनि घरको नजिकसम्म राख्न सकेको बताउँछन् । ‘घरका छाउ हुने महिलालाई ठ्याक्कै घरमा राख्न सकिएको छैन । तर पहिलेभन्दा अहिले घरको नजिक राख्छौं । समाजमा सबै एकजुट हुँदा धामी एक्लैले गोठमै जानुपर्छ भन्न सक्दैन,’ उनले भने, ‘छाउ हुँदा घरमै बस, केही हुँदैन भन्न सकेका छैनौं । अब भन्नुपर्छ ।’

मंगलसेन नगरपालिका–४ का मस्टो देवताका धामी मोती कामीले देवताको व्यवस्थापन गर्नुपर्ने बताए । ‘सबैको घरमा देवताका धामी हुँदैनन् तर सबैको घरमा महिनावारी हुने महिला हुन्छन् । उनीहरूलाई व्यवस्थापन गर्नुभन्दा देवता र धामीको व्यवस्थापन गर्न सहज हुन्छ,’ उनले भने । अहिले पनि महिनावारी भएको समयमा गोठमा बस्नुपर्ने, पानीको धारामा जान नपाइने, शौचालय प्रयोग गर्न नपाइनेजस्ता समस्या रहेको उनले बताए । पहिले सञ्चालन गरेका अभियान प्रभावकारी नभएको र अब धामीलाई साथमा लिएर चेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले बताए । 

सामाजिक कुरीति, हिंसा, बालविवाहजस्ता समस्या हटाउन धामी र धार्मिक व्यक्तिसँग संवाद अगाडि बढाएको सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर रावलले बताए । ‘जिल्लाभरका विभिन्न देवताका धामी कुसंस्कारविरुद्ध देखिएका छन् । अब समुदायमा जनचेतनाका काम गर्न पनि सहज हुने देखिन्छ,’ उनले भने ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully