गृहमन्त्री लेखकसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

BJP External Affairs Chief Chathaiwale meets Home Minister Author

काठमाडौँ — गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा आएका चौथाइवालेले बुधबार गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।

नेपाल भ्रमणका लागि बुधबार मात्रै काठमाडौं आइपुगेका भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी  आक्रमण घटनाको निन्दा गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

मन्त्री लेखकले उक्त घटना दु:खद् भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकी भारतसित रहेको बताएको उनको सचिवालयले उल्लेख गरेको छ । नेपाल–भारतबीचको सदियौंदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताइएको छ । 

भेटका अवसरमा चौथाईवालेले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने बताएका थिए । 'नेपाल–भारतबीचको सम्बन्ध दृढ छ,' चौथाईवालेको भनाइ उल्लेख गर्दै गृहमन्त्रीको सचिवालयले भनेको छ, 'कुनै पनि विषयले मित्रवत सम्बन्धमा असर पर्दैन ।'

चौथाईवालेले कश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखक मार्फत समवेदना समेत व्यक्त गरेका थिए । चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भाजपाको पूर्ण सहयोग रहने धारणा व्यक्त गरेका थिए ।  

कान्तिपुर

Link copied successfully