आज देश-दुनियाँमा के-के भयो ?

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — अदालतमा विचाराधीन मुद्दाबारे नबोल्न कांग्रेस महामन्त्री थापालाई सर्वोच्चको आदेश, नदीजन्य पदार्थ उत्खननमा बाधक बनेको भन्दै वन प्रमुखलाई कारबाही गर्न प्रदेश र केन्द्र सरकारलाई सिफारिसदेखि अमेजनले थाल्यो स्याटेलाइट इन्टरनेट प्रक्षेपणसम्मका खबर आज चर्चामा रहे ।

000

सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दाका बारेमा अभिव्यक्ति नदिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो ।

000

नदीजन्य पदार्थको उत्खनन प्रक्रियालाई असहयोग गरेको भन्दै पश्चिम नवलपरासीको डिभिजन वन कार्यालयका प्रमुखलाई कारबाही गर्न जिल्ला समन्वय प्रमुखसहित जिल्लाका सातवटै पालिका प्रमुखले संघ र प्रदेश सरकारलाई पत्राचार गरेका छन् । जिल्ला अनुगमन समितिको बैठकमा उपस्थित हुने तर माइन्युटमा हस्ताक्षर नगरेपछि चुरे क्षेत्रमा पर्ने खोलानालामा नदीजन्य पदार्थको ठेक्का खोल्न ढिलो भएको भन्दै डिभिजन वन कार्यालयका प्रमुख जीवन पंगेनीलाई कारबाही गर्न माग गरिएको हो । 

000

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा थप १५ दिन रातको समयमा यातायात रोकेर मर्मत तथा विस्तारको काम हुने भएको छ। नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । सडक विभागले सूचना जारी गर्दै वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक ६ घन्टा दाउन्ने क्षेत्रमा यातायात रोकेर काम गरिने जनाएको छ ।  

000

लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधारका लागि संघर्षरत डा.गोविन्द केसीले एमबीबीएसको सिट बढाउन नमिल्ने बताएका छन् । म्यानमारका भूकम्प पीडितहरूको सेवा गरेर नेपाल फर्कने क्रममा डा‍। केसीले आइपुग्दा रेजिडेन्ट डाक्टरहरू हडतालमा रहेको र स्वास्थ्य मन्त्रालयले बनाएको एक समितिले एमबीबीएसको सिट एक सयबाट बढाएर डेढ सय बनाउने तयारी भन्ने खबरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् ।  

000

विश्वका दोस्रो धनाढ्य जेफ बेजसको कम्पनी अमेजनले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट कुइप अन्तर्गत पहिलो चरणमा २७ वटा इन्टरनेट भूउपग्रहहरू प्रक्षेपण गरेको छ । योसँगै अमेजनले विश्वव्यापी द्रुतगतिको इन्टरनेट सेवा विस्तार गर्ने महत्वाकांक्षी लक्ष्यको औपचारिक सुरूवात गरेको छ । 

कान्तिपुर

Link copied successfully