सुदूरपश्चिमको समग्र विकासमा विशेष ध्यान दिनेछौं : अध्यक्ष दाहाल

वैशाख १६, २०८२

रञ्जना बिसी

We will pay special attention to the overall development of Far West: President Dahal

कैलाली — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिमको समग्र विकासमा आफ्नो विशेष प्राथमिकता रहने बताएका छन् ।

धनगढीमा माओवादी केन्द्रद्वारा सञ्चालित तराई-मधेश जागरण अभियानअन्तर्गत मंगलबार आयोजित ‘समुदायसँग माओवादी संवाद’ कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिम र कर्णालीलाई राज्य प्रणालीले सधैं उपेक्षा गर्दै आएको उल्लेख गरे । 'म सत्ता पक्षमा रहूँ वा प्रतिपक्षमा, सुदूरपश्चिमको विकासका लागि सधैं विशेष ध्यान दिनेछु,' उनले भने ।

उनले सुदूरपश्चिमको नेतृत्वमा रहेका व्यक्तिहरूले जनताको सवाललाई गम्भीर रूपमा लिएर काम गर्नुपर्नेमा जोड दिए । गणतन्त्रको प्रथम प्रधानमन्त्री बन्दा नौ महिनाको कार्यकालमा सबैभन्दा धेरै पटक सुदूरपश्चिम भ्रमण गरेको स्मरण गर्दै उनले यहाँको विकासमा आफूले सधैं चासो दिएको दाबी गरे । 'म पहिलोपटक सुदूरपश्चिम आएको बेला यो क्षेत्र शिक्षामा पछि परेको पाएँ, त्यसैले विश्वविद्यालय स्थापना गरेर सुधार ल्याउने पहल गरियो,' उनले भने ।

फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको, सुख्खा बन्दरगाह निर्माण, पञ्चेश्वर जलविद्युत् आयोजना पुनः अगाडि बढाउने प्रक्रिया, भारतसँगको सहकार्यमा प्राविधिक कलेज स्थापनालगायत योजना आफू नेतृत्वको सरकारले सुदूरपश्चिममा गरेको उल्लेख गरे ।

सुदूरपश्चिममा प्रस्तावित दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित हुनु पनि ऐतिहासिक उपलब्धि भएको उनले बताए । 'स्वास्थ्य क्षेत्रमा यो ठूलो क्रान्तिको शुरुवात हो,' उनले भने । उनले चीन भ्रमणका क्रममा ८ वटा नाका खोल्ने सहमति भएको जानकारी दिँदै खप्तड क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाउने योजना पनि सार्वजनिक गरे ।

उनले देशका रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्ने विषयमा समेत सरकारमा बहस अघि बढाएको बताए । सुशासनको पक्षमा दृढ पहल गर्ने उनले प्रतिबद्धता जनाए । 'जनयुद्धमा सुदूरपश्चिमले देखाएको वीरता र बलिदानप्रति म सधैं कृतज्ञ छु । त्यसैले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र पर्यटनमा सुदूरपश्चिम र कर्णालीलाई उच्च प्राथमिकता दिनुपर्छ भन्ने मेरो स्पष्ट भिजन हो,' उनले भने ।

रञ्जना बिसी

Link copied successfully