सोती घटना : जन्मकैद सदर र जातीय विभेदको कसुर बदर गर्ने उच्च अदालतको आदेश

वैशाख १६, २०८२

तृप्ति शाही

Soti Incident: High Court's order to quash the crime of birth imprisonment and caste discrimination

वीरेन्द्रनगर — जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ ।

अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो । 

जातीय विभेद र छुवाछूतको कसुरमा जिल्ला अदालत रुकुमपश्चिमले दिएको आदेशलाई उच्चले बदर गरेको अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए । उनले भने, 'जातीय छुवाछूतबाट सबै प्रतिवादीलाई सफाइ र केही उल्टी फैसला भएको छ । पूर्णपाठ आउन बाकी छ ।'

२०८० मंसिर १९ गते जिल्ला अदालत रुकुमपश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछूतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो ।

घटनामा ८ जनाले भने सफाइ पाएका थिए । जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए । ०८२ वैशाख ९ गते उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । 

नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही पनि सोती घटनामा मारिएका थिए । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।

यता जातीय विभेदजस्तो जघन्य अपराधमा उच्चले उन्मुक्ति दिएको भन्दै मृतकका आफन्त र दलित अधिकारकर्मीहरूले उच्च अदालत गेट अगाडि नाराबाजी गरिरहेका छन् । उनीहरू अदालत अघि धर्नामा बसिरहेका छन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully