सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

President Dahal's commitment to continue for social justice and equality

काठमाडौँ — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

अध्यक्ष दाहालले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षाको सुनिश्चितताप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताका निम्ति माओवादीले उठाएका सवाल अझै सान्दर्भिक रहेको बताए ।

त्यस अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully