What you should know
काठमाडौँ — एकीकृत समाजवादीका सांसद प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गर्नुपरेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद आलेले उक्त कुरा बताएका हुन् । पार्टीको दबाबमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बेला जुनियर पदमा रहेका अधिकारीलाई महानिर्देशक बनाउनुपरेको उनको भनाइ थियो।
'माननीय अमरेशकुमार सिंहले पनि भन्नुभयो, जुनियर मान्छेलाई ल्याएर डीजी बनाइयो, हो बनाइयो । मेरै पालामा बनेको हो । तर निधारमा लेखेको हुँदैन नि यो चोर हो कि साधु हो भनेर थाहा त हुँदैन, त्यो बेलामा मैले धेरै पटक भनेको हो, जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डीजी बनाइयो ।'
—
*सांसद तथा पूर्वपर्यटनमन्त्री प्रेम आलेले सोमबार संसद्मा अश्लील शब्द बोलेको भनी प्रकाशित समाचारमा त्रुटि भएको भेटिएको छ । उनले संसद्मा 'त्यो बेलामा मैले धेरै पटक भनेको हो, जुनियर मान्छेलाई नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डीजी बनाइयो' भनेका थिए । तर उनको अडियो सुन्ने क्रममा असावधानी हुँदा अन्यथा रिपोर्टिङ भएकामा सम्पादकीय टिम क्षमा माग्दै शीर्षकसहित समाचारमा भएको भुल सुधार गर्दछ । - सम्पादक
