राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनःस्थापनाका लागि भन्दै गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट, राप्रपा सांसद धवलशमशेर राणा सोमबार एउटै मञ्चमा
काठमाडौँ — राजतन्त्र पक्षधर पार्टीका नेताहरू एउटै मञ्चमा उभिएका छन् । सोमबार राजधानीको शान्ति बाटिकामा सभाको आयोजना गरी उनीहरूले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरंकुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) का अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राजसंस्था पुनःस्थापनाका लागि भन्दै गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट, राप्रपा सांसद धवलशमशेर राणा सोमबार एउटै मञ्चमा देखिका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, राजावादी आन्दोलनका नेताहरूले मिलेर मात्र लक्ष्यमा जान सकिने उनीहरूको टिप्पणी छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा, नेपाल) ले सोमबार काठमाडौंमा विरोधसभा आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले भ्रष्टाचार र कुशासनले देश आक्रान्त बनेको र भावी सन्ततिको भविष्यसमेत अन्योलग्रस्त बन्दै गएको टिप्पणी गरेका छन् ।
‘यस्तो बेलामा देशको अस्मिताको रक्षाका लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी छ । अहिले प्रजातन्त्र, लोकतन्त्रका नाममा देशमा जुन प्रकारको लुटतन्त्र र निरंकुशता हाबी भइरहेको छ, त्यसको अन्त्यका लागि हामीबाहेक देशमा अर्को कुनै विकल्प र शक्ति छैन,’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एकढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरे । ‘हामी सबै एकढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं । केही हप्ता, केही महिनाभित्रैमा
हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन्,’ उनले भने, ‘तपार्इंहरूले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने अभियान अब चाँडै नै नयाँ ढंगबाट सशक्त रूपमा अगाडि बढ्नेछ ।’
राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरू एकजुट हुनुपर्ने बताए । ‘सबै जनाले आ–आफ्नो ठाउँबाट राजसंस्थाको पुनःस्थापना, सनातन हिन्दु राष्ट्रको स्थापना र संघीयता हटाउनका निम्ति सबै एकजुट भएर लागौं,’ उनले भने । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुन्डाहरूको शासन भएको आरोप लगाए । कार्यक्रममा राप्रपा सांसद धवलशमशेर राणालगायत नेताहरू पनि सहभागी भएका थिए ।
