मुलुक समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा छ : पूर्वराष्ट्रपति यादव

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

The country is on the way to build a socialist-oriented socialism: Former President Yadav

काठमाडौँ — नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा विभिन्न राजनीतिक परिवर्तनपछि ठूलो सकारात्मक परिवर्तन आएको बताएका छन्।

बीपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘बीपीको समाजवाद र स्थानीय सरकार’ शीर्षक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा उनले यस्तो धारणा राखेका हुन्।

डा. यादवले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक संविधान रहेको वर्तमान अवस्था नै मुख्य सकारात्मक उपलब्धि भएको बताए। उनले बीपी कोइरालाले चिन्तन गरेको समाजवादमा उन्मुख संविधान बनेको उल्लेख गर्दै मुलुक अहिले समाजवादउन्मुख समाजवाद निर्माणको बाटोमा अघि बढेको बताए।

उनले भने, 'हामी सबैभन्दा पोजिटिभ कुरा गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक संविधानमा छौँ। यो संविधान समाजवादउन्मुख छ, जुन बीपी कोइरालाको समाजवादी चिन्तन अनुरूप हो। आखिर हामी समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा छौँ। हामीले बाटो बिराएका छैनौँ।'

डा. यादवले राजनीतिको आफ्नै कोर्स हुने र त्यसअनुसार मुलुकमा समयअनुसार सम्झौता (कम्प्रमाइज) हुँदै ठूलो परिवर्तन भएको बताए। उनले मुलुक बर्बाद भयो भन्ने भाष्य गलत भएको स्पष्ट पारे।

उनले भने, 'आज प्रत्येक नेपाली सार्वभौमसत्ता सम्पन्न मालिक भएको छ। नेपालीले संसारमा शिर उठाएको अवस्था छ।'

कान्तिपुर

Link copied successfully