सत्ता गठबन्धन भत्काउने प्रयासमा माओवादी, प्रतिरक्षामा एमाले

ओली भन्छन्, ‘ढल्यो, ढल्यो, सरकार ढल्यो । शेरबहादुरजी फर्किने बित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याइदिएपछि फेरि छक्क परेका छन् । शेरबहादुरजी आउने बित्तिकै नढलेर के भो ? दुई चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छन् ।

वैशाख १५, २०८२

गंगा बीसी

Maoist in attempt to break power alliance, UML on defense

काठमाडौँ — सत्तारुढ एमाले र प्रमुख प्रतिपक्ष माओवादीका शीर्ष नेताबीच सरकार ढल्ने–नढल्ने विषयमा वादविवाद चलेको छ। २०८४ सम्म सत्तातिर ध्यानै नदिने नीति लिएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय कांग्रेस–एमाले गठबन्धन भत्काउने रणनीतिमा लागेका छन्।

सरकारबाट बाहिरिएको एक वर्ष नपुग्दै कांग्रेस, माओवादी र अरु दल मिलाएर नयाँ गठबन्धन बनाउने कसरत गरेको माओवादीका शीर्ष नेताका अभिव्यक्तिले देखाएको छ । 

माओवादी अध्यक्ष दाहालले हालै सरकार धेरै दिन नटिक्ने दाबी गरेका थिए । सरकारबाट बाहिरिएपछि आफ्नो ध्यान सत्तातिर नभई जनतातिर फर्केको उनले बताउँदै आएका थिए । ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ का क्रममा उनले आफ्नो ध्यान सरकारतिर नभएकाले जनतासँग आएको उनको सम्बोधनको मुख्य बुँदा थियो । तर गत सातादेखि दाहाल र अन्य नेताहरूले कांग्रेसको नेतृत्वमा सरकार बने निःशर्त समर्थन गर्ने बताउन थालेका छन् । 

प्रमुख प्रतिपक्ष दलको हैसियतले फागुन १२ यता तराई मधेश अभियानमा सत्तातिर ध्यान नदिने निर्णयसहित राजनीतिक गतिविधि गरिरहेको माओवादीले कांग्रेससहित गठबन्धन बनाउने चाहनाले अर्को तरङ्ग ल्याइदिएको छ । 

नेपाल राष्ट्र बैंकको गभर्नरसहित अन्य राजनीतिक नियुक्तिमा कांग्रेस-एमालेबीच तालमेल नमिलिरहेकै बेला कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच संवाद भएको थियो। त्यो संवादपछि दाहालले सार्वजनिक रुपमा कांग्रेस सरकारको नेतृत्व लिन तयार भए निःशर्त समर्थन गर्ने बताउँदै आएका थिए ।

देउवा आफैँले ओलीसँग काम गर्न असहज भएको ‘सेयर’ गरेपछि दाहालको धारणा सार्वजनिक भएको थियो । माओवादीका एक नेताका अनुसार कांग्रेस-एमाले गठबन्धनमा ठूलो दरार नआउँदै दाहाल एक कदम अघि बढेर सरकार ढल्न लागेको बताएका थिए ।

उनले सरकार ढल्न लागेको बताएपछि राष्ट्र बैंकको गभर्नरमा कांग्रेसले सिफारिस गरेको व्यक्ति नियुक्त गर्न ओली सहमत भएका थिए। तर गत साता देउवा उपचार गर्न थाइल्याण्डको बैंकक गएपछि भने गठबन्धनका विषयमा संशय बढेको थियो। 

माओवादीसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि ओली र दाहालबीच ‘वाकयुद्ध’ नै चलेको छ । दाहालले ओली सरकारलाई ‘विचौलिया’ को आरोप लगाउँदै आएका छन् । ओलीले विदेशी शक्तिको इशारामा दाहालले सरकार र एमाले प्रमुखलाई घेराबन्दी र प्रहार गरेको दाबी गरेका छन् ।

बिहीबार युवा ‘सेलेब्रेशन’ लाई सम्बोधन गर्दै ओलीले ‘राष्ट्रवादी अडान लिएका कारण विदेशी दलाल तत्वहरू एमालेविरुद्ध खनिएको’ बताएका थिए। शनिबार प्रधानमन्त्री ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई राखेर वार्ता गरेपछि केही आशंका भने मेटिएको छ । त्यसपछि ओली ढुक्क देखिएका छन् ।

देउवा भने गभर्नर नियुक्ति भएपछि मात्र ढुक्क हुने छन् । तर कांग्रेसमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला सरकारप्रति आलोचक रहँदै आएका छन् । यद्यपि ओली सरकारलाई निरन्तरता दिनेबारे पार्टी सभापति देउवाको मुख्य हात छ ।

देउवासँग लामो छलफल गरेको अर्को दिन ओलीले सरकार ढल्नै लाग्यो भन्ने दाहालको भनाइलाई निस्तेज पार्ने प्रयास गरेका छन् । आइतबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा ओलीले दाहाललाई नावाकादको (नामका वामपन्थी, कामका दक्षिणपन्थी) संज्ञा दिँदै कांग्रेस सभापति देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भन्नेहरूलाई देउवाले चिसो पानी खन्याइदिएको बताए ।

‘पहिला एक पल्ट विष्णुबहादुर मानन्धरजीहरूको समूह थियो । उसले केशरजंग रायमाझीहरूलाई नावाकाद भन्थ्यो । नावाकाद भनेको 'नामका वामपन्थी कामका दक्षिणपन्थी' । नावाकादहरू अहिले पनि छन् । नावाकादहरूको दुई वटा छः एउटा कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि हाम्रा विरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने,’ उनले भने, ‘ढल्यो, ढल्यो, ढल्यो, सरकार ढल्यो । शेरबहादुरजी फर्किने बित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याइदिएपछि फेरि छक्क परेका छन् । शेरबहादुरजी आउने बित्तिकै नढलेर के भो ? दुई चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छन् ।’

त्यसो त कांग्रेससँग गठबन्धन बनाउने विषयमा माओवादीभित्र पनि एकमत छैन । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हाल नयाँ गठबन्धन बनाउने पार्टीको नीतिनै नभएको बताए । उनले पार्टी सरकारमा जाने वा कुनै सरकारलाई समर्थन गर्ने भन्ने अहिलेको एजेण्डा नै नभएको बताए । उनले सरकार बनाउने र भत्काउनेबारे पार्टीभित्र छलफल नभएको बताए।

‘हामीले सरकारमा जाने कुरा सोचेका छैनौँ । हामी पार्टीलाई बलियो बनाउने अभियानमा छौँ,' उनले भने, ‘अरु कसैले मिलेर सरकार बनाऔँ भनेको पनि छैन । सरकारमा जाने पार्टीको एजेण्डा होइन ।’ नयाँ सत्ता गठबन्धन बनाउने र समर्थन गर्नेबारे पार्टीभित्र छलफल नभएकोले यसबारे आफूलाई जानकारी नभएको बताए । ‘कसले के कुरा गुर्नभएको छ । मैलाई थाहा छैन,’ उनले भनाइ छ ।

माओवादी उपमहासचिव वर्षमान पुनले कान्तिपुरसँग गरेको वार्तामा गत फागुनतिरै एमालेबाट वामपन्थी गठबन्धन बनाउने प्रस्ताव आएको खुलासा गर्दै पछिल्लो समय कांग्रेसले त्यस्तै प्रस्ताव आएको दाबी गरेका थिए। प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने उनको भनाइ थियो।

‘उहाँहरू आफैं अहिले नै आजै छोड्छौं, भोलि छोड्छौं, मिल्दैनौं भन्ने अवस्थामा हुनुहुन्छ । प्राकृतिक रूपमा पहिलो दल (कांग्रेस) ले सरकार बनाउँछ भने त्यस्तो अवस्थामा हामी ठिक छ भन्छौं । तेस्रो र दोस्रो दलले सरकार चलाइसकेपछि बाँकी रहेको विकल्प भनेको पहिलो दलले चलाउने भन्ने हो । पहिलोले (कांग्रेस) नेतृत्व गर्छ भने हाम्रो समर्थन हुन्छ,’ उनले भने, '२०८४ भन्दै गर्दा हामी देश जतासुकै भड्खालोमा जाओस्, सडकमा विद्रोह होस्, आन्दोलन होस्, प्रतिगामीले चलखेल गरुन् र व्यवस्थामाथि प्रहार गरुन् हामी बेखबर बस्छौं भनेको होइन ।’

माओवादी प्रमुख प्रतिपक्ष दलको रुपमा सरकारलाई खबरदारी गर्ने चाहना भए पनि सत्ता गठबन्धनमा अन्तर्विरोध बढ्दै गएको सन्दर्भमा विकल्पका लागि कांग्रेस–एमाले भौंतारिइरहेको दाबी गरे ।

'दोस्रो पार्टी (एमाले) को नेतृत्वमा पहिलो पार्टी मिलेर पनि करिब एक वर्ष सरकार चलिसक्यो । उहाँहरू यो अवस्थामा यसैगरी मिलेर जानुस् भन्ने हाम्रो भनाइ छ । तर उहाँहरू एकै ठाउँमा बस्न नसक्दा ठूलो पार्टीले सरकार बनाउँछ भने, त्यस अवस्थामा हामी समर्थन गर्छौं ,’ उनले भने । उनले सरकारमा नगई कांग्रेसलाई सघाउन समेत पार्टी तयार रहेको बताए। 

सरकारका काम कारबाहीका कारण निराशा बढिरहेकाले कांग्रेस तयार भए माओवादी सघाउन तयार रहेको उनको भनाइ थियो। ‘गठबन्धन सरकारले त्यही स्वार्थ समूह र बिचौलियाकै हितमा काम गरिरहेको छ । त्यसैले निराश जनतालाई हामीले ‘हामी छौं’ भनेर विकल्प दिने हो ’ उनले थपे, ‘यो आफ्नै स्वतन्त्र धार नै स्थापित गर्ने बाटोमा हामी छौं । तर सरकारले गर्नुपर्ने काम नगर्ने जसका कारण युवाहरूमा निराशा, आमजनतामा पनि असन्तुष्टि पनि बढ्दै गयो । २०८४ का लागि त राम्रो होला। तर तल्कालै दक्षिणपन्थी पुनरुत्थानवादी शक्तिहरूले आफूलाई सुदृढ गर्ने अवस्था जस्तो बनिरहेको छ ।’

गंगा

Link copied successfully