११ जिल्लाबाट अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ

वैशाख १५, २०८२

विवेक पोख्रेल

21 people involved in illegal financial transactions were arrested from 11 districts

काठमाडौँ — अवैध वित्तीय कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । उनीहरुले सत्र अर्ब छयासी करोड सत्तरी लाख उनान्चालिस हजार एक सय रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखएको छ ।

सीआईबीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार पक्राउ पर्नेमा मोरङका ५९ वर्षीय वीरेन्द्रप्रसाद साह, ३१ वर्षीय दिपेन्द्रप्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवणकुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, २२ वर्षीय सम्भु मेहता, ३१ वर्षीय सुशीला कुमारी, ३२ वर्षीय ममताकुमारी साह, ३५ वर्षीय रामविलास साह रहेका छन् ।

यस्तै, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोजकुमार महतो, ४५ वर्षीय अलितादेवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरुणकुमार साह, ४४ वर्षीय सञ्जि कुमार महतो, पर्साका २६ वर्षीय प्रदीपकुमार साह र ३२ वर्षीय विकर्णजंग राणा रहेका छन् । शाहीका अनुसार चितवनका ६४ वर्षीय गोविन्दप्रसाद आचार्य, विरगन्जका ३८ वर्षीय सलमा खातुन, नवलपरासीका ३४ वर्षीय गणपति पाण्डे, ४३ वर्षीय भीमकुमारी गुरुङ र २२ वर्षीय राजकमल लोनिया रहेका छन् ।

‘उनीहरु विभिन्न कम्पनी र एजेन्टमार्फत अवैधरूपमा हुण्डी कारोबार गरेका थिए,’ शाहीले भने,‘भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली लगायतमा संलग्न व्यक्ति तथा समूहले अवैध कारोबारबापत प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट सजिलो पे र पेवेल नेपाल प्रालिमार्फत बैंक खाताहरुमा जम्मा गर्थे ।’

उनीहरुले भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा दिने र रेमिन्टेन्सबापतको रकम हिसाब मिलान गरेका थिए । ‘हामीले २५ जनाको टोली ७ गतेदेखि १३ गतेसम्म उनीहरुलाई पक्राउ गर्न देशका विभिन्न जिल्लामा परिचालन गरिएका थियौं,’ शाहीले भने, ‘पुरानो घटनामा पक्राउ परेकाहरुको आधारमा समेत उनीहरुको अनुसन्धान प्रहरीले गरिरहेको थियो ।’ शाहीका अनुसार उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरमा अनुसन्धान हुँदैछ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully