काठमाडौँ — काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राईलाई अनुसन्धानका लागि पक्राउ गरिएकोबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। शनिबार सांसद राईलाई पक्राउ गरेको प्रहरीले बेलुका नै सभामुख घिमिरेलाई त्यसबारे जानकारी गराएको हो।
काठमाडौँ प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांसद राई पक्राउ परेकाबारे जानकारी दिँदै सभामुख घिमिरेलाई पत्राचार गरेका छन् । राईलाई सुमन खनाल समेतको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सांसद राईलाई प्रहरीले शनिबार बुढानीलकण्ठ-१० कपनबाट पक्राउ गरेको थियो।
कांग्रेसकी केन्द्रीय सदस्य राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो ।
स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको थियो ।
मुद्दा अभियोजन हुँदा मुख्य अभियुक्त जीबी राईसहित ३४ जना फरार थिए । स्वर्णलक्ष्मीबाट सेयरधनी, विभिन्न नाफामुखी कम्पनी र अनधिकृत व्यक्तिसम्मले विभिन्न मितिमा गैरकानुनी रूपमा रकम लगेर अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । त्यतिबेला राईलाई भने प्रतिवादी बनाइएको थिएन ।
पछि सरकारी वकिलको कार्यालयले उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । राई १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो । यस्तै, अर्का अभियुक्त जोशीलाई पनि ५० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।
