काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले शिक्षकलाई कक्षाकोठामा पठाउने वातावरण बनाउन आग्रह गरेका छन् । उनले सामाजिक संजालमार्फत भनेका छन् ।
'विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच भएको झडप दुःखद् र चिन्ताजनक छ । लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो, ' उनले भनेका छन् 'शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन । घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।'
उनको थप भनाइ छ, 'राज्यसँग आग्रह छ - शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ । आन्दोलनरत शिक्षकहरुसँग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं ।'
