काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई प्रमाणित गर्न चुनौती दिएका छन् ।
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज पचाएर यस्ता आरोप लगाउने गरेको बताए । देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको बताए ।
'झुुटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौं सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं,' प्रधानमन्त्री ओलीले भने, 'आजकाल निलो रङका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्नेछैन ।'
सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि चिसो पानी खन्याइएको महसुुस भएको उनले टिप्पणी गरे ।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुुझाव दिए । 'पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,' उनले भने ।
