काठमाडौँ — माओवादीले शिक्षकमाथि भएको हस्तक्षेपको विरोध गरेको छ । प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गरी समस्या सुल्झाउनभन्दा बल्झाउने काम गरेको आरोप लगाए ।
'विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण ढंगले आन्दोलनरत शिक्षकहरु र समाचार संकलन गरिरहेका संचारकर्मीमाथि भएको नृशंस दमनको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २५ दिनदेखि सडकमा ओर्लिएका देशभरका शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय छ,' उनले भनेका छन् ।
'शिक्षकहरुमाथि भएको सरकारी दमनले गुरुवर्गको मात्र होइन, समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ । यो कार्य सरकारको विवेकशुन्य र गैरजिम्मेवारीको पराकाष्ठामात्र होइन समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लंघन हो ।'
उनले घटनाबाट सरकार शिक्षकहरुसँग इमान्दारीपूर्वक सार्थक वार्ता गर्नुको सट्टा घुसपैठ गराउने, फुटाउने र दमन गर्नेतिर उद्यत देखिँदै छ भनी गरिएको आशंका पुष्टि भएको आरोप लगाएका छन् । 'बहुमतको दम्भ र अहंकार त्यागी निकासका लागि सरकारले गम्भीरतापूर्वक पहल गरोस् । अझै पनि शिक्षकलाई तर्साउने, गलाउने र थकाउने काममा सरकार लाग्नु भनेको परिस्थितिलाई थप भड्काउनु हो,' माओवारीको भनाइ छ,
'हाम्रो पार्टी यसप्रकारका हर्कतहरु तुरुन्त बन्द गर्न र इमान्दारीपूर्वक वार्तामार्फत शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरुलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन पनि माग गर्दछ ।'
माओवारीले दमनबाट गम्भीर घाइते भएका शिक्षकहरु एवं संचारकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
