मधेश प्रदेशका तत्कालीन सचिव श्रेष्ठ र व्यापारी पण्डितसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा

मिलेमतोमा साढे १९ करोडका उपकरण खरिद

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Corruption case against 14 including the then secretary Shrestha of Madhesh province and businessman Pandit

काठमाडौँ — मधेश प्रदेश सरकारले मधेश प्रदेश निदान केन्द्र सञ्चालनका लागि स्वास्थ्य उपकरण खरिद गर्ने क्रममा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रदेश सचिव इमनारायण श्रेष्ठ र व्यापारी विशाल पण्डितसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कर्मचारी र व्यापारीको मिलेमतोमा सरकारी रकम हानिनोक्सानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्न्धान आयोगले तत्कालीन प्रदेश सचिव श्रेष्ठ र पण्डितसहितलाई प्रतिवादी बनाई १९ करोड ४६ लाख १३ हजार रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रदेश सरकारका तत्कालीन सामाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठ, लेखा अधिकृत नवीन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहलाई १९ करोड ४६ लाख १३ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना मागदाबी गरेको छ । यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक श्रवणकुमार मिश्रविरुद्ध दाबी गरिएको बिगोबमोजिम सजाय हुनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ । यसैगरी प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक गुणनन्दप्रसाद साह, मेडिकल ल्याब टेक्नोलोजिस्ट मोहन मिश्र र ल्याब टेक्निसियन निरीक्षक राम उदागर यादवविरुद्ध पनि बिगोबमोजिम जरिवाना र कैद सजाय दाबी गरिएको छ ।

प्रयोगशालाका अधिकृत नवौं रहेका जितेन्द्रकुमार साह र अमरेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, लेखा अधिकृत अमरदीप महतो, ल्याब असिस्टेन्ट कर्मशीलप्रसाद गोप र वरिष्ठ ल्याब अधिकृत उमेश चौधरीविरुद्ध पनि बिगोबमोजिम कैद र जरिवाना दाबी गरिएको छ । यस्तै खरिदमा मिलेमतो गरी भ्रष्टाचार गरेकामा मतियारका रूपमा हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितलाई पनि मुख्य कसुरदारसरह नै १९ करोड ४६ लाख १३ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना मागदाबी गरी मुद्दा दायर भएको हो ।

आव २०७८/७९ का लागि आह्वान गरिएको खरिद प्रक्रियामा मधेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि उपकरण खरिदपूर्व गर्नुपर्ने प्रक्रिया उल्लंघन गरी मिलेमतोमा ठेक्का सम्झौता गरी सरकारी रकम हानिनोक्सानी गरेको अभियोगपत्रमा उल्लेख छ । निदान केन्द्र स्थापनाका लागि २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ रकम स्वीकृत भएकामा स्पष्ट आधार, कारण र औचित्यबिना कार्यक्रमअन्तर्गत ठेक्का टुक्राएर चारवटा मात्रै स्वास्थ्य परीक्षणसम्बन्धी उपकरण खरिद सम्झौता गरी त्यसलाई नै गैरकानुनी रूपमा अघि बढाएबाट कायम गरिएको बिगो रकम बराबरको हानिनोक्सानी पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ ।

यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ठेक्का सम्झौता गर्ने क्रममा हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक पण्डितकी पत्नी सञ्चालक रहेको कस्तूरी ट्रेड लिंक प्रालि काठमाडौं, पण्डितका ससुरा संस्थापक रहेको मेडी सोलुसन इन्टरनेसनल प्रालि काठमाडौं र उनका दाइले बिक्री गरेको लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालि, ललितपुरसँग दररेट लिई केही रकम मात्र फरक पारी, लागत अनुमान तयार गरिएको खुलेको छ । प्रयोगशालाले पण्डितसँगको मिलेमतोमा गैरकानुनी लाभ उठाउने बदनियतले पूर्वनियोजित योजनाबमोजिम नै एउटै परिवार वा नातेदारकै फर्मबाट दररेट लिएको अख्तियारले जनाएको छ ।

यस्तै बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रालिले बोलपत्रको सूचना आह्वान गर्नुभन्दा पहिले नै २०७९ वैशाख २९ मा ६४ थान अटो केमेस्ट्री एनालाइजर उपकरण खरिदका लागि अर्डर गरेर २०७९ असार २० मा नेपालमा पैठारी भइसकेको पाइएको र त्यही उपकरण प्रयोगशालाका लागि पठाइएको पनि भेटिएको छ ।

कान्तिपुर

Link copied successfully