सरकार ढल्छ भन्नेहरू फत्रक्क गलेका छन् : प्रधानमन्त्री ओली

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Those who say that the government will collapse are completely wrong: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्किएपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्।

एमाले संसदीय दलको बैठकमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे।

'सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरूका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरू फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन,' उनले भने।

प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा सरकार बनेको दोहोर्‍याएर स्मरण गराए। 'यो सरकार मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा सरकार बनेको हो। त्यसकारण  हामी आफैँ हल्लाको पछाडि लाग्नुहुँदैन,' उनले भने। 

संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा भएको बैठकमा ओलीले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरे।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैँले गर्नतिर लाग्नुपर्ने बताए। 

कान्तिपुर

Link copied successfully