काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन्। शनिबार नयाँ बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन्।
उनले संसद्मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिए। उनले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरूविरुद्ध स्पष्ट धारणा राख्न आग्रह गरे।
देश भन्दा ठूलो अरु नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने बताए। उनले भने, ‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठूलो अर्को कुरा हुँदैन।'
प्रधानमन्त्री ओलीले गलत कुराको प्रतिवाद तत्कालै गर्नुपर्नेमा जोड दिए।
