सन्तान सम्झिरहेका आमाहरू

'सन्तान नहुँदाको सबैभन्दा धेरै पीर चाडपर्व आउँदा हुन्छ, मातातीर्थ औंसी र दसैंमा त आउँछन् कि भनेर आस हुने रहेछ'

वैशाख १३, २०८२

आरती पौडेल

Mothers remembering their children

काठमाडौँ — गोगंबुस्थित हिमालय वृद्धाआश्रम (ओल्डएज होम) मा बस्दै आएको थुप्रै महिना बिते । दुई वर्षअघि उनका श्रीमान्‌ले चोला फेरेपछि उनी थप एक्लिएकी छन् । उनीहरूका दुई छोरा थिए । जीवनसाथी गुमाएर विक्षिप्त बनिरहेकी सिन्धुपाल्चोककी कृष्णमाया भण्डारी (६५) लाई छोराहरूको ठूलो आस थियो ।

आमालाई पालैपालो हेर्ने भन्दै दाजुभाइले सर्तसमेत राखेका थिए । 'तर दुवै छोराले हरेक दिन रक्सी पिएर आउने, गाली गर्ने गर्न थाले । सहन नसकेर अलग भएँ,’ कृष्णमाया वृद्धाश्रमसम्म आइपुग्नुपछाडिको मर्म सुनाउँछिन् ।

Mothers remembering their children

कृष्णमाया भण्डारी (६५)

सन्तानबाट अलग भएर बस्दा पनि आमाको मन न हो, याद आइरहँदो रहेछ, कृष्णमायालाई । वृद्धाश्रमको ढोकामा बेलाबेला एकोहोरो नजर लगाउँदी रहिछन्- चाडपर्वमा 'आमा' भन्दै खोज्दै आई पो हाल्छन् कि ! 'तर  कहिल्यै सम्झिँदैनन्,’ कृष्णमाया ननिको स्वरमा भन्छिन्, 'एकमन सोच्छु, नातिनातिना त आउँछन् कि भनेर । तर आफ्नै छोरालाई त आमाको सम्झना आउँदैन भने उनीहरु आएनन् भनेर किन मन दुखाउनु !’ 

कृष्णमायाका लागि पर्वहरू त रोएरै बित्छन् । सन्तान सम्झेर न्यास्रिएको मन बुझाउँदै भन्छिन्, 'कस्तो होला मेरो जीवन, सन्तान भएर पनि नभएजस्तो !’

सोही वृद्धाश्रममा भेटिएकी रामेछापकी भीमा बस्नेत क्षेत्री (७१) सँग पनि यस्तै दुखाइरहने कथा छन् । श्रीमान् बितको १९ वर्ष बित्यो । भीमाकी एउटी छोरी थिइन् । उनको भारतमा विवाह भयो, अहिले उतै छिन् । 

उनलाई आफ्नै छोरीले ल्याएर वृद्धाश्रममा छाडेकी हुन् । ‘छोरी नजिक भए त छोरीसँगै बस्न पाए हुन्थ्यो नि । सबैका छोराछोरी आउँछन् । आफ्नो भएर पनि नभएजस्तो कस्तो गाह्रो महसुस हुन्छ,’ उनी भन्छिन् । कम्तीमा छोरी मातातीर्थ औंसीमा त आइदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई । 'सन्तानलाई ९ महिना कोखमा राखेर जन्माएको हो,' उनले मसिनो स्वरमा भनिन्, 'त्यसैले मेरो दु:खसुखमा के छ आमा, कस्तो छ आमा भनी सोधिदिए कस्तो हुन्थ्यो ।'

Mothers remembering their children

भीमा बस्नेत क्षेत्री (७१)

बाटोमा कोही आमाछोरी हिँडेको देख्दा उनलाई छोरीको यादले पिरोल्छ । 'उसका पनि बाध्यता होलान्, मै बुढीलाई हेर्नलाई किन आउँथिन् र आफ्नो सन्तान, घरपरिवार छोडेरे त्यति टाढाबाट,' उनले आँखा रसिलो बनाइन् ।

पार्वती पुडासैनी ओछ्यानको डिलमा दुईवटा लौरोको सहारामा खुट्टा भुइँमा झुन्डाएर बसिरहेकी छन् । ५२ वर्ष पुगेकी उनका दुवै खुट्टा चल्दैनन् । कम्मरभन्दा तलको भागले थोरै काम गर्छ । पार्वतीकी एउटी छोरी छिन् । बिहे गरेर अहिले जापान बस्छिन् । घरमा श्रीमान् अर्की श्रीमतीसँग बसेका छन् । 'श्रीमान् र सौताले छोरीलाई आमा पाल्न आइज, हामी सक्दैनौं भनेर दिनदिनै तनाव दिएपछि दुई वर्षअगाडि आश्रमको साहारामा आइपुगेँ,'  उनी भावुक बनिन्, ‘छोरी औंसीमा आएर मसँगै बसोस्, मेरा बेथा सुनोस् लाग्छ नि तर के गर्नु, एउटा मात्र सन्तान पनि विदेश कमाउन गएकी छ । अझै १८ महिनापछि मात्रै नेपाल आउँछे रे ।'

Mothers remembering their children

पार्वती पुडासैनी (५२)

आफू अशक्त भएपछि सबैले हेप्ने गरेको उनले सुनाइन् । 'सबैको अर्घेलो भइँदो रहेछ । आफू सक्ने बेलासम्म सबैको प्यारो, नसक्ने भएपछि सबैको अर्घेलो...' त्यसपछि उनी बोल्न सकिनन् ।

नागार्जुन नगरपालिका-१ रानीवनमा रहेको मानव सेवा आश्रममा बस्दै आएकी बसन्ती होमागाईं ७० वर्ष पुगिन् । कपाल सेतै फुलेकी उनी दमको रोगी हुन् । अक्सिजनको सहारा लिएर ओछ्यानमा पल्टिरहन्छिन् । उनको घर, जायजेथा सबै काभ्रेमा छ । श्रीमान् भारतमा ४० वर्ष बेपत्ता हुँदा देवरले आफ्नो नाममा पास गरेपछि घरविहीन बनेको उनले सुनाइन् ।

Mothers remembering their children

बसन्ती होमागाईं (७०) 

उनी श्रीमान्‌सँगै मानवसेवा आश्रममा छिन् । 'भाग्यले पनि मलाई कति कुराले ठगेको । न घर छ, न छोराछोरी नै,' उनले आँसु रोक्न सकिनन्, 'भाग्यले न आमा बन्ने सौभाग्य दियो न त मन बुझाउने कुनै आधार । सन्तान भएको भए म कहाँ वृद्धाश्रम आएर बस्थेँ होला र ।'

'आमा' भन्दै आश्रममा आउनेहरू देख्दा उनलाई आफ्नै सन्तान जस्तो लाग्छ । हरेक चाडपर्व उनका लागि खल्लो बनिरहेका छन् । 'भगवान्‌लाई दु:ख पोख्छु, कसैको नराम्रो नचिताउँदा पनि किन एउटा पनि सन्तान भएनन् भनेर,' उनले पीडा सुनाइन्, 'सन्तान नहुँदाको सबैभन्दा धेरै पीर चाडपर्व आउँदा हुन्छ । अझ धेरै त मातातीर्थ औंसी र दसैंमा हुने रहेछ ।' 

६० वर्षकी शान्ता तामाङको घर काभ्रे हो । उनका ३ छोरा २ छोरी छन् । श्रीमान्‌सहित आश्रममा बस्दै थिइन्, एक वर्षअगाडि श्रीमान्‌को आश्रममै मृत्यु भएपछि उनको जीवनमा थप अन्धकार छाएको छ । आफ्ना छोराछोरी कता छन्, के गर्दै छन्, उनलाई थाहा छैन । तर पनि उनलाई अझै आस छ, आफ्ना सन्तानले आएर लैजान्छन् भन्ने । ‘कसैका सन्तान नभएर आश्रममा बसेका छन्, मेरो त सन्तान भएर पनि आश्रममा छु, लिन आए त जान्छु भनेर आस गरेर बस्छु तर के गर्नु आउँदैनन्,’ उनी भन्छिन् ।

Mothers remembering their children

शान्ता तामाङ (६०)

उनी बेलाबेला सोच्छिन्- अरु बेला याद नआएपनि आमा औंसीका बेला त सन्तानले सम्झिनुपर्ने हो । अब त उनले आस गर्न पनि छाडिसकिन् । ‘छोराछोरी नभएर आश्रममा बस्नुपर्‍यो भनेर मन दुखाउनेहरु छन् तर छोराछोरी, नातिनातिना सबै भएर पनि कोही नभएको जसरी आश्रममा बस्नुपर्दा कस्तो नरमाइलो लाग्दो रहेछ । कति रुन्छु मलाई मात्र थाहा छ,’ उनी आफ्नो पीडा सुनाउँछिन् ।

सोनी माझीको देब्रे हातखुट्टा प्यारालाइसिस भएर राम्रोसँग चल्दैन । दोलखा घर भएकी उनी ५१ वर्ष पुगिन् । २ छोरा र १ छोरी छन् तर कता छन्  उनलाई थाहा छैन । ‘मेरा छोराछोरी म कहाँ छु भन्ने थाहा नभएर नआएका हुन् कि नत्र त आइहाल्थे नि,’ उनलाई झिनो आशा छ, 'पहिला म कोठामा बस्दा त आउँथे । प्यारालाइसिस भएर आश्रममा बसेपछि भने आएका छैनन् । आउँछन् र लैजान्छन् भन्ने आसमा दिन बिताइरहेकी छु ।'

Mothers remembering their children

सोनी माझी (५१)

पशुपतिनाथ मन्दिरबाट उद्धार गरिएकी मेनुका सुनार (३६) का ३ छोरा र १ छोरी छन् । अर्की श्रीमती ल्याएपछि श्रीमान्‌ले हरेक दिन जाडँरक्सी खाएर पिट्ने गरेको उनले सुनाइन् । 'बाध्य भएर घर छाडेर हिँडेकी हुँ,' भन्छिन्, ‘आमा औंसीमा होस् वा अरु बेला आफ्नो सन्तानसँगै बस्ने रहर कुन आमालाई नहोला र !'

Mothers remembering their children

मेनुका सुनार (३६)

आरती पौडेल

Link copied successfully